विश्व रक्तदाता दिवसको अवसरमा जनचेतनामुलक प्रभातफेरी
काठमाडौं। विश्व रक्तदाता दिवसको अवसरमा जनचेतनामूलक र्याली तथा प्रभातफेरी आयोजना गरिएको छ । ब्लड डोनर्स एसोशियसन नेपाल (ब्लोदान) काठमाण्डौ जिल्ला शाखा र ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एफ को संयुक्त आयोजनामा आज रक्तदान सम्बन्धी जनचेतनामूलक र्याली गरिएको हो । काठमाण्डौको कोटेश्वर चोकबाट शुरु भएको प्रभातफेरि सेतिओपी मार्ग, धर्मस्थल मार्ग, सहयोगीनगर, मदनभण्डारी पार्क परिक्रमा गरी महादेवस्थान मन्दिर परिसरमा पुगेर समापन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रमुख अतिथि काठमाण्डौ क्षेत्र नं. २ का प्रदेश सांसद सुनिल केसीले आफु स्वयं स्वंयसेवी रक्तदाता भएको भन्दै रक्तदानका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
विशेष अतिथि ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले रक्तसञ्चारको क्षेत्रमा ब्लोदानले निभाएको भूमिका र विश्व रक्तदाता दिवस २०८० का अवसरमा ब्लोदानले आयोजना गरेका साताव्यापी कार्यक्रमका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर डा. राजेन्द्र गिरिले रक्तदानका क्षेत्रमा ब्लोदान जस्तो परोपकारी संस्थासंग सहकार्य गर्दै लायन्स क्लवले पनि रक्तदानका क्षेत्रमा काम गर्दै आएको तथा आगामी दिनमा थप गतिविधि गर्दै जाने उल्लेख गरे । ब्लोदानको आह्वानमा आयोजित कार्यक्रममा ब्लोदान केन्द्र, ब्लोदान काठमाण्डौं, मध्य तथा पूर्वी क्षेत्रका पदाधीकारीहरु, लायन्स क्लबका डिक्स्ट्रीट गभर्नर तथा विभिन्न च्याप्टरका प्रतिनिधि, सामुदायिक प्रहरी तथा कोटेश्वर प्रहरी प्रभागका प्रहरी लगायत स्वंयसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
ब्लोदान काठमाण्डौ जिल्लाका अध्यक्ष जनक कुमार खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रमका सभापति तथा पूर्वी भेगिय समितिका अध्यक्ष चेतनाथ काफ्ले ब्लोदानले विश्व रक्तदाता दिवसका अवसरमा तय गरेका कार्यक्रमहरु सबै मिलेर सफल पार्नुपर्ने जनाउँदै कार्यक्रमको समापन गरेका थिए । ब्लोदानको साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो ३ बजे प्रसुति गृह थापाथलीमा ‘स्वंयसेवी रक्तदान रगत व्यवस्थापनका कठिनाइ तथा चुनौती’ विषयमा अन्तकृया कार्यक्रम राखिएको छ ।