गृहमन्त्रीको दोहोरो रणनीति : बिचौलियाले पोलेकै भरमा खाँणलाई जेल, सुन तस्करीमा सिआईबीले नाम किटानी गर्दा महरालाई उन्मुक्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले माओवादी नेतालाई जोगाउने, कांग्रेस नेतालाई जेल हाल्ने अभियानमा लागेका छन् । नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई जेल हाले ।

जबकि खाँणको संलग्नता देखिएको छैन । सोही कारण खाँण जेलमुक्तको माग गर्दै उच्च अदालत पुगेका छन् । कांग्रेसमा सम्भावना भएका नेता खाँणलाई एआईजी श्याम ज्ञवालीको डिजाइनमा श्रेष्ठले जेल हाले ।

तर भन्सारबाटट चोरी भएको नौ किलो सुनमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई श्रेष्ठले उन्मुक्ति दिएका छन् । सिआईबीले इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएर तस्करी गरेको, भन्सारबाट चोरी गरेर माओवादी नेता महराको बाबुछोराले सुन निकालेको किटानी गर्दा पनि गृहमन्त्री श्रेष्ठले छानबिनमा तानेका छैनन् ।

आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिइएको छ ।

चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकैपटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो । अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११।५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’

तस्कर र बिचौलियाहरूको मिलेमतोमा भन्सारका कर्मचारीहरूको मिलिभगतमा सुन बेचिएको थियो । यसको सुराक खुलेपछि भन्सार कार्यालयले गत वैशाख २६ मा प्रहरीको सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न आग्रह गरेको थियो । त्यसका आधारमा ब्युरोले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्वसभामुख र उनका छोरामाथि थप अनुसन्धान गरेको छैन ।

जबकि सुन तस्करी तथा बिक्रीको जालो राहुल मात्र होइन, स्वयं कृष्णबहादुर महरा जोडिएको प्रहरी प्रतिवेदनमा स्पष्ट उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मिसिलमै संलग्न कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई (९८४१३–––८५) , दाओजिन वाङ (९८०१–––९८), लोकेन्द्र पौडेल (९८१३––––४८), खुवाप्रसाद न्यौपाने (९८४१––––६४), राहुल महरा (९८५११–––८८) समेतको सम्पर्क, कृष्णबहादुर महरा (९८५११–––८८) र मुक्तिप्रसाद श्रेष्ठ (९८५७०–––८२) आपसी सम्पर्कमा रहेको तथा यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजीहरू आ–आफ्नो आपराधिक जिम्मेवारीबमोजिम खटिएको देखिन्छ ।

’ तर २७ असारमा मुद्दा दायर गर्दा महरा बाबुछोरालाई अस्वाभाविक रूपमा छुटाइएको छ ।अहिले सुन तस्करीमा संलग्न रहेकासँग माओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, नन्दबहादुर पुनको पनि बसउठ देखिएको छ । तर गृहमन्त्री श्रेष्ठले यसलाई चासो नै दिएका छैनन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *