प्रचण्डले महासचिवमा बाहिरबाट नेता ल्याउन खोजेको दिए संकेत
काठमाडौं । माओवादी केन्द्रीय समिति बैठकमा यसपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना भयो । खासगरी उनको भन्दा पनि परिवारवादको कडा विरोध भयो । हिजो मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव माओवादीमा हुँदा प्रचण्डको कार्यशैलीको आलोचना हुन्थ्यो । तर प्रचण्ड यताउता नेताहरुसँग मिलेर नेतृत्वमा रहिरहे ।
यसपटक भने केन्द्रीय समिति बैठकमा अब प्रचण्डपछि उनको उत्तराधिकारी को भन्ने बहस पनि सुरु भएको छ । प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङले आफूहरू उत्तराधिकारी भएको दाबी गर्दै आएका थिए ।
तर बैठकमा वर्षमान र जनार्दनले आफूहरूमाथि निरन्तर प्रहार र लाञ्छना लगाएको भनेर आक्रोश व्यक्त गरेपछि बाहिरबाट तेस्रो नेता ल्याउन खोजिएको आशंका गरिएको छ । प्रस्ट रूपमा नभने पनि एक वर्षभित्र माओवादी महासचिव बन्ने गरी विप्लव भित्र्याउन खोजेपछि बैठकमा नेताहरूले अहिले नै उत्तराधिकारी तोकेर अघि बढ्नुपर्ने बताएका छन् ।
महासचिवको दौडमा रहेका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई उत्तराधिकारी तोकेर अघि बढ्न सुझाव दिएका छन् । उनले वर्तमान नेतृत्वको विकल्प खोज्न नहुने उल्लेख गर्दै उत्तराधिकारी तयार पार्ने विधिमा भने जानैपर्ने सल्लाह दिए । ‘अहिले समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ ।
उत्तराधिकारी तयार पार्ने विधिमा जाऔं,’ उनले भने । नेता पुनले कसैले पनि अध्यक्षको विकल्प अहिले खोज्न नहुने बताए । ‘अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको र अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराइसकेको छु,’ उनले भने । पुनको माओवादीमा ४० प्रतिशत होल्ड रहेको बताइन्छ ।
उपमहासचिव जनार्दन शर्माले धारणा राख्ने क्रममा पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आफूले राखेको धारणालाई गलत ढंगले व्याख्या गरिएको बताए । ‘मेरो उक्त धारणालाई अध्यक्षलाई असहयोग गरेको रुपमा प्रचार गरियो,’ उनले भने । जनार्दन शर्माले आफूले अध्यक्ष प्रचण्डलाई असहयोग नगरेको अभिब्यक्तिको खण्डन गरे । पार्टीको केन्द्रीय कमिटी बैठकमा शनिबार आफूलाई सहयोग नगरेको भनी अध्यक्षले गरेको गुनासोबारे उनले प्रस्टीकरण दिँदै उनले आफूविरुद्ध गलत प्रचार गरिएको बताए ।
उनले पार्टी अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा आफु लागिरहेकोसमेत बताए । आफू सधैँ अध्यक्षकै रहेको, तर दुईजनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोमा शर्माले असन्तुष्टि समेत व्यक्त गरे ।