नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका सिक्का निकाल्दै


काठमाडौं। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाका अनुसार ५ रुपैयाँ दरका १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको छ। ‘गाई चिह्न अंकित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ। दसैंपछि टेण्डरको प्रक्रिया थाल्छौं‚ महाशाखा प्रमुख थानेश्‍वर आचार्यले भने। यसअघि राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो। हिजोआज बजारमा किनमेलका लागि १ र २ रुपैयाँको सिक्काको प्रयोग हुनै छाडेको छ। त्यही कारण राष्ट्र बैंकले ५ रुपैयाँ दरका सिक्का निकाल्न लागेको हो। ५ रुपैयाँको सिक्काले ५ वर्षको माग धान्ने बैंकको विश्‍वास छ। ‘सिक्का निकाल्दा राष्ट्र बैंकलाई नाफा छैन। घाटा नै भए पनि सर्वसाधारणको माग परिपूर्ति गर्न निकाल्ने गरेका हौं,’ उनले भने, ‘सर्वसाधारणले एउटा सिक्का लिइसकेपछि एक बोतल पानी आओस्, दूध आओस् र सार्वजनिक बसको भाडा तिर्दा काम आओस् भन्ने सोच्छन्। तसर्थ पर्चेजिङको दृष्टिले ठूलो दरको सिक्का काम लाग्छ भनेर निकाल्न लागिएको हो। सँगै राष्ट्र बैंक २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजनामा छ। ‘नोटहरु २,३ वर्षमा नै झुत्रो भएर जान्छन्। सिक्काको आयु २० देखि ३० वर्ष हुने मानिन्छ। त्यसैले सिक्कालाई प्राथमिकता दिन लागेका हौं । चाडबाडमा चलनचल्तीका सिक्काको तुलनामा सुनचाँदीका सिक्काको माग बढी हुन्छ। विशेषगरी तिहारमा धनतेरसका दिन सुनचाँदी भित्र्याए घरमा लक्ष्मीले बास गर्छिन् भन्ने जनविश्‍वास छ।

यसलाई मध्यनजर गरी बैंकले यसपटक चाँदीका गाई छाप सिक्का निकालेको छ। फाइन सिल्भरमा गाई छाप अंकित सिक्का निकालिएको हो। १० ग्रामको २० हजार थान र २५ ग्रामको १५ हजार थान सिक्का निकालिएको छ। १० ग्रामको सिक्कालाई १ हजार ६ सय र २५ ग्रामको सिक्कालाई ४ हजार रुपैयाँ पर्छ। ‘यो नयाँ प्रोडक्ट हो। विशेषगरी लक्ष्मीपूजालाई मध्यनजर गरेर गाई अंकित शुद्ध चाँदीको सिक्का निकालिएको हो। यो सिक्का हामीले सर्वसाधारणलाई वितरण गर्न थालिसकेका छौं। यसबाहेक हामीले लक्ष्मी, गजलक्ष्मी र गणेशका सिक्का पनि निकालेका छौं‚ निर्देशक आचार्यले भने। बैंकले ९.९९ क्यारेटको १० ग्राम, ५ ग्राम र २।५ ग्रामका असर्फी पनि निकालेको छ। असर्फीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने सुनको मूल्य र अन्तर्राष्ट्रिय बजारको मूल्यलाई तुलना गरेर तोकि बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ।

राष्ट्र बैंकले स्मारिका सिक्का पनि निकाल्ने गरेको छ। यस्तो सिक्का राष्ट्रलाई विशेष योगदान पुर्‍याउनेको फोटोसहित निकाल्ने गरिन्छ। साहित्यिक, पुरातात्विक, ऐतिहासिक‚ सांस्कृतिक धरोहरलाई प्रतिनिधित्व गर्ने गरी स्मारिक सिक्का निकाल्ने गरिएको छ। राष्ट्र बैंकले केही समयअघि सत्यमोहन जोशीको तस्वीर अंकित १० हजार सिक्का निकालेकामा सबै सकिइसकेको छ। उक्त सिक्काको मूल्य १० ग्रामको १ हजार ६ र २५ ग्रामको ४ हजार रुपैयाँ थियो। १ र २ रुपैयाँ दरका सिक्का भने राष्ट्र बैंकसँग पर्याप्‍त छन्। १२ करोड ५६ लाख ४१ हजार थान सिक्का स्टकमा रहेको महाशाखाले जनाएको छ। तीमध्ये ७ करोड ९६ लाख ७९ हजार थान एक रुपैयाँ र ४ करोड ५९ लाख ६२ हजार थान २ रुपैयाँ दरका हुन्। ती सिक्काले अबको पाँच वर्षको माग धान्ने आचार्यले बताए। मुद्रा व्यवस्थापन विभागका अनुसार सिक्काको माग उच्च छ। काठमाडौंबाट दैनिक १ रुपैयाँ दरका २० बक्सा र २ रुपैयाँ दरका १० बक्सा सिक्का बिक्री भइरहेको छ। एक बक्सामा एक रुपैयाँ दरका १० हजार र २ रुपैयाँ दरका ५ हजार थान सिक्का हुन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *