देशकै नम्बर एक बैंक बनेको ग्लोबल आइएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक आज १७ गते मंगलवार आफ्नो स्थापनाको १६ वर्ष पुरा गरि १७औँ वर्षमा प्रवेश गरेको छ । २०६३ मा ५१ करोड रुपैयाँ चुक्ता पुँजीबाट ग्लोबल बैंक लिमिटेडबाट यसको यात्रा सुरु भएको थियो । हाल उद्योग बाणिज्य महासंघका अध्यक्ष रहेका चन्द्र ढकालको सोंचको उपज थियो यो बैंक । अहिले देशको लगभग १५ प्रतिशत जनसंख्याको ग्लोबल आइएमई बैंकमा खाता छ । इमान्दार र लगनशील भएर काममा लागिरहे सफलता आफैं पछि लाग्ने बताउने ढकालका अनुसार ५१ करोड रुपैयाँ पुँजीबाट सुरु भएको ग्लोबलसँग आज ६१ अर्ब रुपैयाँको पुँजी छ । ४६ लाख ग्राहक छन्, साढे चार खर्ब निक्षेप अनि चार खर्ब हाराहारीमा ऋण लगानी छ। भारत, बेलायत र अष्ट्रेलियामा बैंकको प्रतिनिधि कार्यालय स्थापना भएको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरु अनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क र वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । उनले १७ बर्ष अघि परिकल्पना गरेको बैंक देशकै नम्बर एक बैंक बनेको छ। इन्टरनेशनल मनी एक्सप्रेस स्थापना गरी मलेसियाबाट रेमिट्यान्स सेवा सुरु गरेको यो कार्य विदेशबाट नेपालमा पैसा पठाउनेलाई ‘आइएमई गर्ने’ भनेरै ब्राण्डेड भयो । त्यस पछि खुल्यो , आइएमई फाइनान्सियल इन्स्टिच्युसन र ग्लोबल बैंक लिमिटेड। पछि मर्जर हुदै बन्यो ग्लोबल आइएमई बैंक । ५ वटा वाणिज्य बैंक १० विकास बैंक र ६ फाइनान्स गरी २१ वटा बैंक तथा वित्तीय संस्था यस्मा मर्जर भएका छन् ।आइएमई ग्रुप र ग्लोबल बैंकको नेतृत्वमा रहेका ढकाल यसलाई देशको नभइ विश्वकै ‘टप बैंकमध्ये एक बनाउने लक्ष्यका साथ अगाडी बढेका छन् ।