चिसोका कारण फ्लुका बिरामी बढ्दै

काठमाडौँ उपत्यकालगायत देशभर चिसोका कारण सिजनल फ्लुका बिरामी पनि बढेको चिकित्सकहरू बताउँछन् । पछिल्लो समय रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या आउने लगायतका समस्या बढेको छ । चिसोमा फ्लु अर्थात् इन्फ्लुएन्जा भाइरसका कारण यस्तो समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ । इन्फ्लुएन्जा ए र बी भाइरसका कारण रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या देखिने काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । फ्लु सरुवा रोग हो र यो बाह्रै महिना हुने गर्दछ तर वर्षको दुई सिजनमा यो भाइरस बढी सक्रिय हुने उनले सुनाए । ‘फ्लु भनेको इन्फ्लुइन्जा भाइरसबाट सर्ने एक प्रकारको सरुवा रोग हो,’ पुनले भने, ‘यो रोग वर्षभर नै हुन्छ, तर फेब्रुअरी–मार्च र अगस्ट–सेप्टेम्बरतिर यो उत्कर्षमा पुग्छ । डा.पुनका अनुसार चिसोमा इन्फ्लुएन्जा ए र बी भाइरस बढी सक्रिय हुने भएकाले धेरै मानिसमा सामान्य रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या देखिए पनि कमैले जाँच गराउँछन् । सामान्यतः यो रोग लागे हप्ता दिनमा निको हुने उनले उल्लेख गरे । ‘जाडो मौसममा फ्लु प्रायःलाई हुन्छ, उनले थपे, ‘सबैमा देखा पर्ने तर जटिल अवस्था नभएसम्म स्वास्थ्य जाँच नगराउने भएकाले यसको यकिन तथ्याङ्क हुँदैन । ललितपुरस्थित पाटन अस्पतालमा दैनिक करिब २५ सय जना बिरामी जाँच गराउन आउँछन् । यसमध्ये पहिलाको तुलनामा फ्लुका बिरामी बढेको अस्पतालका मेडिकल डाइरेक्टर डा। युवराज शर्माले बताए । ‘एक दिनमा दुई हजारदेखि २५ सय बिरामी आउनुहुन्छ,’ शर्माले भने, ‘५० देखि ६० जना फ्लुका बिरामी हुनुहुन्छ । रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो लगायत समस्या लिएर अस्पताल आउने गरेको उनले सुनाए । अस्पतालमा चिसोका कारण हुने फ्लुको सङ्क्रमणबाट आएका बिरामी युवा तथा वृद्धहरू रुघाखोकी, ज्वरो तथा दमबाट सङ्क्रमित रहेको उनको भनाइ छ । बालबालिकामा भने कोल्ड डायरियाका समस्या देखिएको उनले बताए ।
कसरी सर्छ फ्लु ?
फ्लु प्रायः एक व्यक्तिबाट अर्कोमा सर्ने चिकित्सकहरू बताउँछन् । फ्लु लागेको ३ देखि ४ दिनसम्ममा अरूमा सर्ने प्रबल सम्भावना हुन्छ । यो रोग श्वासप्रश्वासबाट सर्ने डा. पुनले बताए । ‘स्वास्थ्य मापदण्ड लागु भएको छैन,’ उनले भने, ‘खोक्दा, हाच्छ्युँ गर्दा प्रायः यो रोग एकबाट अर्को मानिसमा सर्दछ ।’
फ्लुबाट कसरी बच्ने ?
फ्लुका कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले सकेसम्म यो रोगबाट जोगिन चिकित्सकहरू सुझाउँछन् । फ्लुको भाइरस खाना, आँखा, नाक र मुखको माध्यमबाट सर्छ । सुरुमा थकान, शरीर दुख्ने, कफ, घाँटी दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छ । धेरैजसो व्यक्तिमा यो आफैँ निको हुन्छ । तर यो रोग बिग्रिएमा दम, पक्षाघात, निमोनिया हुने डा। पुनले बताए । जाडो मौसममा फ्लुको भाइरस बढी सक्रिय हुने भएकाले चिसोबाट जोगिन न्यानो कपडा लगाउने तथा बिहानको चिसो हावामा घरबाट सकेसम्म ननिस्कनु नै राम्रो हुने शर्माले बताए । दिउँसो घरबाहिर निस्किँदा पनि मास्क लगाएर निस्कन उनले सुझाए । यस्तो मौसममा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुका साथै तातोपानी पिउनसमेत उनले सुझाव दिए । यस्तै, छाती दुख्ने तथा श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै गएमा वा घ्यारघ्यार हुने भएमा सकेसम्म चाँडो जाँच गराउन उनको सुझाव छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगका बिरामीलाई यो रोगको बढी जोखिम हुन्छ । यो रोगको भाइरस सार्ने संवाहक परिवारको सक्रिय सदस्य हुने डा.पुनले बताए । ‘परिवारको सक्रिय सदस्यले मास्क लगाउने, हात धुने अर्थात् स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्नुपर्छ,’ उनले भने, ‘भिडभाडमा जाँदा खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने, सरसफाइमा ध्यान दिनुपर्छ । उनका अनुसार फ्लुको खोप पनि पाइन्छ । यो खोप वर्षमा एक पटक लगाउने गरिन्छ । दीर्घरोगी, वृद्धवृद्धाले यो खोप लगाउनुपर्छ । खोप लगाएमा जटिल अवस्थामा पुग्नबाट जोगाउने उनले सुनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *