इति श्री गणतान्त्रिक व्यथा भाग (२) – चल धन्नु गणतन्त्रको रथमा

(अथ श्री गणतान्त्रिक व्यथा भाग(१)–नेतालाई सिंहासन जनतालाई आश्वासनबाट क्रमश)
राजनीति परिवर्तनपछि बि.सं.२०४५ साल चैत्र देखि हालसम्म आईपुग्दा आइएमएफ–वल्र्ड बैङ्कको निदेश पालना गर्दै निजी क्षेत्रलाई सुम्पिएर आर्थिक बृद्धि–बिकाशलाई एक अस्वभाविक प्रक्रियामा लगियो । बेरोजगारलाई हैन नेताहरुका मानिशलाई जागीर दिन निजी क्षेत्र तयार भयो । हुने र नहुनेको खाडल फराकिलो हुदै राजनीतिज्ञभित्रै नयाँ सभ्रान्त बर्गको उदय पनि भयो । जनताहरु सरकारको सहयोग बिना नै जसरी तसरी बाँची रहेका छन । गुजारा गर्न मीटर ब्याजमा लिएको ऋण होस वा बैङ्क सहकारीबाट लिएको होस घरवार लिलाम भएर उठीवास हुने एवं गाईबस्तु बाँधे जसरी किलोमा बाँधिएर केरकारमा बकपत्र गर्नुपर्ने अवस्था भएको छ । मान सम्मान पदक तक्मा सडक–सदनमा बेला बखतमा हुने नौटङ्कीहरु सबै राजनीति र आपसी सम्झौताका अस्त्र पो हून की झैँ महसुश गर्न लागिएको छ । स्व.पध्मशङ्कर अधिकारी–रामहरि ढुङ्गेल–पशुपति चौलागाई–नारायण काईराला–अशोक कोइराला–पाण्डव घिमिरे–मदन भण्डारी–स्व.श्री ५ बीरेन्द्र–मरिचमान सिंह लगायतका नेताहरुले आखिरमा धरती नै छोडनु पर्दा निराशाको कति बोझ लिएर जानु भयो होला र अहिले बाँचीरहेका सीपी गजुरेल–मोहन बैध,इश्वरी दाहाल अशारे काका–मोहन चन्द्र अधिकारी–कृष्णहरि अधिकारी–रोहित–लक्ष्मण घिमिरे–ताराबहादुर कोईराला–युक्त प्रसाद भेटवाल लगायतहरुले के सोचीरहेका होलान ? मधेशको नाम तथा राजाको नाम भजाएर राजनीति गर्नेहरुको अवशरबादीता देखेर स्व.गजेन्द्र नारायण सिंह–स्व.महेन्द्र नारायण निधी,स्व.महेश्वर सिंह,स्व.रामबृक्ष यादव,पुहातु चौधरीहरुले के सोच्नु होला ?यो देश निर्माण नगरिदिएको भए कुन देशको राजनीतिमा हालिमुहाली गर्थे होला भनेर राष्ट्रनिर्माता माथीबाट टुलुटुलु हेर्दे हुनुहन्छ होला । राप्रपाको जिम्मेबार तथा गैरअवशरबादी भूमिका नरहेको प्रष्ट भै रहेको बेला स्व.श्री ५ महेन्द्र र वीपी एवं पुष्पलालले सिर्जना गरेको राजनीतिको मुहान कठैबरको स्थितिमा पुगेको छ । अब गणतन्त्रको बजेटमा केही सभ्रान्तहरुले सृजना गरेका जीडीपीका आधारका कुरा सुन्नु पर्ने छ । त्यसमा प्रतिव्यक्ति आय–प्रतिव्यक्ति रोजगार–शिक्षा–स्वास्थ्य–डेलीभरी–अरु सुविधाहरुको आधारलिनुपर्ने कुरालाई वास्ता गरीदैन । बजेट र योजनाहरु त लोकसेवाको परीक्षा दिन तयारी समग्रीभन्दा बढी हुन सकेका छैनन् । सामाजिक इन्जिनियरिङ्गका परिभाषा पनि पढियो,आरक्षण तथा समाबेशी जातपाती पहिचानको राजनीति नै तल्लो वर्ग एबं समुदायलाई माथि उकाश्ने मन्त्र मानियो । सूरा सुन्दरीका कथा पनि नेपाली राजनीतिज्ञले तयार गरेको आफ्ना शास्त्रका पाठ्यक्रम पनि भएको भन्ने बुझियो । यसै पनि अर्ध उपनिवेश नेपालको सार्वभौमसत्ता मजबूत पार्नु पर्नेमा ७ प्रदेशरूपी–मुख्य मन्त्री तथा प्रदेश प्रमुख जस्ता नायकको सवारी साधनले सिर्जना गरेको धुलो भित्र नव नेपाल खडा गर्दै सार्वभौमसत्तालाई खण्डिकरणको उपायद्वारा झन कमजोर बनाइयो ।

आफ्ना कार्यकर्ताको उधोग भएकाले हो या चन्दा दिएको कारणले हो प्लाष्टिक झोला उत्पादकलाई हैन कि प्लाष्टिक झोला बोक्ने सर्वसाधारणलाई कारवाही गरिन्छ । बिकाशको नाममा प्रकृतिको दोहन गरिएकोले पर्यावरण तहस नहश भएको छ । सुखसयलको खोजिमा प्रकृतिको बिनाशलाई टुलुटुलु हेरे हामी मृत्युको नजिक पूगीरहेका छौँ । हामी पुराना पीढीका मानिश अब आलोपालो गरेर रित्तिन लागेको छौँ । यही वातावरणीय स्थितिमा मङ्गल ग्रहमा बस्ने हैसियत भएकाहरु बाहेकका आगामी पूस्ताहरु कसरी बस्लान ? अब हामी पुरानाहरुले हाम्रा पछिका पूस्ताहरुलाई हामीले अहिलेका प्रविधि नहूदा पनि कसरी तिमिहरुलाई यतिसम्मको बनाउन सक्यौँ भनेर सिकाउनु चाहिँ पर्छ । यही चुनाव प्रणाली–यही लूटतन्त्रले न समाज न बिकाशको अवस्था न राजनीतिक दल अर्थात राज्यको कुनैपनि क्षेत्रमा लोकतन्त आउने वाला छैन,एकातिर हामी राजा महाराजा जस्ता भयौँ (प्रचण्ड) भनेर भन्ने अर्कोतिर ब्यबहारमा बग्गी चढने,आफ्नो लहडमा टाओरहरु बनाउने,दिनमा ४ पटक लूगा फेर्ने,स्तुति श्रवणको इच्छा लगायतका हर्कत गर्दै उदय भएका गणतान्त्रिक नव अवतारी महाराजहरुको गणतन्त्र भन्दा त बरु पुरानै राजतन्त्र ठीक भन्दै जनसमुदायमा निराशा छाएको छ । गणतन्त्रको सैद्धान्तिक रुपमा तुलना लोप भै सकेको राजतन्त्रसँग पक्कै हुन सक्दैन,तर गणतन्त्रको कार्यान्बयनमा संल्गन पक्षहरुले देशको भूराजनीतिक अवस्था,देशको सामाजिक अवस्था,अन्तराष्ट्रिय महाशक्तिहरुको रणनीतिक स्वार्थ,बिगतमा गणतान्त्रिक राष्ट्र प्रमुखहरुको भूमिका,बैदशिक शक्तिहरुको हेपाहा व्यवहारसँगै देशको अखण्डतामा आँच पुग्नेगरी राजनीतिक अस्थिरताको सिर्जना लगायत हरेक पक्षमा खुलेआम हस्तक्षेप अनि देशभक्त शक्तिहरु बाह्य शक्तिको स्वार्थ अनुकुल आज्ञापालक हुनुपर्ने अन्यथा मारिनुपर्ने बाध्यताले गर्दा विश्वको उत्कृष्ट भनिएको नेपालमा समेत संवैधानिक रुपमा व्यवस्था भएको गणतन्त्रको विकल्पमा जनताले अर्को ब्यवस्था सहित बैकल्पिक नेतृत्वको खोजिमा अलमलिन चाहेका भएपनि जनबिश्वासिलो नेतृत्वको पहिचान कशैले पनि दिन सकेको छैन । (६)“समकालिन दुरावस्थामा के तिमीलाई क्षोभ लाग्दैन ? असल प्रणालीको स्थापना र सुधारमा कसैको चासो छैन । देशका अधिकांश युवा विदेशमा श्रमदास र यौनदासी हुन वाध्य छन । सार्वजनिक कामको आधारमा पदाधिकारीको मूल्याङ्कन हुदैन । सर्वत्र दलालहरूको विगविगी छ । प्रायःसामिप्यताका आधारमा पुरस्कृत गर्ने गरिन्छ । सर्वत्र दण्डहिनता छ । उत्तरदायित्व सून्य जस्तै छ । कोही जिम्मेवार छैनन् र अरूलाई दोष दिएर पन्छिने प्रवृत्ति व्याप्त छ । अधिकांश पदाधिकारीहरू सेवा प्रवाहमा हैन व्यक्तिगत स्वार्थमा मात्र निर्लिप्त छन । अधिकांश सार्वजनिक श्रोत साधन व्यक्तिगत लाभार्थ कागजी घोडा तयार गरी दुरुपयोग हुन्छ । समुचित सुधारमा प्रयाप्त प्रयास गरिएको छैन । अव गरिदिने कसले होला ?” (२९ मंशिर बि.सं.२०७८ मा कृष्ण तिम्सिनाको सामाजिक सञ्जालको भित्ताबाट) ।

जनताहरुको यी जिज्ञाशाहरुले जवाफ खोजी रहेका छन् । “मेरो स्पष्ट सोच छ केन्द्र एवं प्रदेश सरकारलाई लोकतान्त्रिक सरकार भन्न सकिन्न ! दुवै सरकार खाले च्याँखे जितौरे तथाकथित राजनीतिक दलहरूका क्षणिक स्वार्थ पूर्तिका माध्यम बनेका छन् ! यस्ता अस्थिर एवं अस्तित्वहीन सरकार बनिरहेका छन् कि आ आफ्नो स्वार्थमा न्यायपालिकाका पुङ्नपुच्छारका बोझ बनेका छन् ! हेरौँ त कस्तो विडम्बना तथाकथित राजनीतिक दल सरकार गठन गर्न नसक्ने न्यायालयले बनाई दिन पर्ने रे ! लोकतान्त्रिक शासन व्यवस्था जनेच्छामा रमाएको हुन्छ तर हाम्रो देशको आमजनता रमितेमात्र भएर दर्शक मात्र बनेको छ ! आमनिर्वाचनमा आफूले मत दिएको प्रतिनिधि माननीयले संज्ञित भए पछि जनता र राष्ट्रलाई भन्दा मन्त्री सन्त्री लखतन्त्री एवं जनतन्त्री हुन थाल्छ ! पलपल दल बदल्ने मात्र नभएर दल फुटफाट पारेर नयाँ दलको घोषणा गर्छ ! राजनीतिक दलको फुटफाट विचार,सिद्धान्त,दर्शन एवं अवधारणाको नीतिगत मतभेदमा भयो भने यसलाई लोकतान्त्रिक भन्न सकिन्छ तर पद सत्ता सुविधाको लागि भएमा लोकतान्त्रिक भन्न मिल्दैन ! हाम्रो नेपाल राष्ट्रमा यस्तै अलोकतान्त्रिक कृत्य भइरहेका छन् ! जनमत अपमानित भइरहेको छ ! नेपाल राष्ट्रको तथाकथित गणतान्त्रिक व्यवस्थामा व्यक्तिगत स्वार्थ सम्प्रेषित रहेको छ । नेपालको वर्तमानको सङ्घीय गणतन्त्रीय व्यवस्थाको चर्तिकला यस्तै देखिन्छ ! स्थिर सरकार नभएको राज्य लावारिश लाश झैँ हुन्छ ! मैले यौटा नेपालीको नाताले नेपाल आमालाई आदर सम्मानका साथ समर्पण गरेको नेपालको लागि ‘नेपालवाद’ हो, नेपाली राष्ट्रिकको हितमा ‘नेपालवाद’हो, नेपाली राष्ट्रियतालाई जगेर्ना गर्ने ‘नेपालवाद’ हो”(मोहन राज चापागाईँ,बरिष्ठ राजनीतिज्ञ,पूर्व बामपन्थी–पुष्पलाल समूह,हाल नेका । सामाजिक सञ्जालको भीत्ताबाट । २६,२८ बैशाख बि.सं.२०८१) ।
“प्यास कहती है चलो रेत निचोडी जाये । अपने हिस्से मेँ समन्दर नहीँ आने वाला ”(मेराज फैजाबादी) । अहिले चिया पसल–मठ मन्दिर जता गयो जनतामा गुनासोको प्रवाह यसरी बग्ने गरेको पाइन्छ–गणतन्त्रले धेरै कुराहरु दियो हामी नेपालीलाई ःलहड–रहर अराजक–अरुको नक्कल गरेर संस्कारलाई बिकृत बनाएर आफ्नो हैसियतभन्दा माथि उचालेर आफूलाई तथा आफ्ना सन्ततिको आर्थिक भविष्यलाई समेत धितोमा राख्ने–आफ्नो धर्मलाई निम्न एबं निम्न मध्यम वर्गले धान्नै नसक्ने गरि तामझाम उन्दै लगेर अरुको धर्मलाई गाली गरेर झन बढी साम्प्रदायीता हुर्काउने–जसरी हुन्छ कमाउने–दोहन–राम्रा अशल मान्छेलाई बाहिर जान विवश बनाएर हाम्रा कमशललाई देशमा हालहुल पार्दै हालीमुहाली गराउने–साहित्य देखि हरेक क्षेत्रमा कर्पोरेट हाकहुक–आफ्नो पेशागत आचरण भन्दा तल झरेर कसैको मिसनमा काम गर्ने–पराया हितमा काम गर्ने–थुप्रै बिभूषणको पहिचान–विदेशमा खेताला पठाउने तर बिदेशी सहयोगको नाममा देशको भूभाग नै कब्जा जमाउन दिनेगरी लम्पसार नै पर्ने–भाडाका सिपाही जन्माउने–शैक्षिक जनशक्तिलाई समेत अन्तराष्ट्रिय स्तरमा अबिश्वसनीय तथा बेइज्जतपूर्ण तवरले प्रश्तुत गर्न नहिचकिचाउने लगायतका थुप्रै तन्त्रहरुलाई समुन्द्रको हिस्सेदार बनायो–बालुवा त निचोर्नै परेन । जनताहरुको एक बर्ग चिया पशल,पत्रिका पशल,मिष्ठान भण्डार,मठ मन्दिर छेउका पशलमा हिजो पञ्चायतको पालामा जति पञ्चहरुको टीका टिप्प्णी गर्दथे प्रजातन्त्रको पूर्नस्थापनापछि गठित पहिलो निर्वाचित सरकार,५२ सालको मनमोहन सरकार ढालेपछि अहिलेसम्म राजनीतिमा देखिएको फोहरी र पाखण्डी व्यवहारको त्यो भन्दा तेवर रुपमा चियो चर्चा गर्ने गर्छन ।
पूर्व प्रम गिरिजाप्रसाद कोइरालाको प्रथम निर्वाचित सरकारको पालामा उहाँको आर्शिबाद प्राप्तहरुले–विश्वकै दुर्लभ दुईतिहाई पूर्व प्रम केपी प्रचण्डको भावुक मित्रताले सिर्जना भएको बामपन्थी सरकारको पालामा केही प्रचण्ड,केही माधव र अत्यधिक केपीको आर्शिबाद प्राप्तहरुले–प्रचण्डको पालामा निर्मल लामा समूहका एकताकेन्द्र बादीहरुले–शेर बहादुरको पालामा बुढा निलकण्ठ धाउनेहरुले,काँग्रेस बामसँग मिलेर राप्रपाले सरकारमा सहभागी हुँदा राप्रपाका मान्छेहरुले साँच्ची कति फायदा लिए कि लिन सकेनन् ? किशुनजीलाई गङ्गा आए गङ्गा दाश जमुना आए जमुना दाश भनेर सर्वोच्च नेता गणेशमानले किन जिस्क्याउनु भएको होला ? सत्तामा टिक्न एमालेका केही नेताहरुले फोहरी जुक्ति लिएर जाँदा प्रर्व प्रम मनमोहन अधिकारीले गतिलो जवाफ दिनु भएर त्यो ऐतिहासिक ९ महिने सरकारलाई स्वर्णकाल बनाउनु भएकाले एमालेहरुले त्यसैलाई अहिले भजाउन पाएका छन,अन्यथा लाभको चहलपहलमा ९ महिना देखि नै नीतिहरु सिर्जनाका लागि सलबलाउन किन लागेका होलान ?
युद्ध बाहेक अरु बेला मुहलमानहरुले सभ्यतामाथी आगो लाएको थाहा छैन तर नालन्दा विश्वविधालयामा मुशलमानले आगो कशरी लाए होलान ? सारे जहाँ से अच्छा हिन्दोस्ताँ हमारा गीत लेख्ने मुशलमानले त माक्र्शलाई सम्झन्थे –“वो कलीम ए बे तजल्ली वो मसीह ए बे सलीब,नीस्त पैगम्बर व लेकिन दर बगल दारद किताब–उहाँले(माक्र्शले) पैगम्बरले जस्तै समाजमा समानता र न्यायको लागि लडनु भयो”(मुहम्मद इकबाल मसऊदी–उपनाम अल्लामा इकबाल,भारत बिभाजन पछि पाकिस्तान) । जनतामा असहज आईपर्दा लेफ्ट सम्झन्छन–ट्रम्पप्रति गुनाशो गर्नु पर्दा यस्तै हो भने अव अमेरिकी समाज मध्य बाममार्गी हुन बेर छैन भनिन्थयो,अहिले भारतीय काँग्रेसको घोषणपत्रलाई सेन्टर लेफ्ट भनिन थालिएको छ,उहिले काँग्रेस तेरो घरमा पसोस–भिमान,पिस्कर,छिन्ताङ्ग तिमिहरुलाई लाईदिन्छु भनेर केही नैतिक पतन भएका पञ्चहरुले धारे हात लाउँथे तर अहिले नेपालका संसदबादी बामहरुका नेता वा भक्तहरुलाई घरबाट निस्कने बित्तिकै बाटोमा भेट हुनगए लौ आज साइत परेन भनेर घर फर्केर एक छिन बशेरमात्र हिडनुपर्ने अवस्था किन सिर्जना भएको होला ? पूर्व गृहमन्त्री राम बहादुर थापा र पूर्व गृह सचिव प्रेम कुमार राईको पालामा हत्तारिएको नागरिक विधयकले तयार गरेको मन्त्रीहरुको सूचि अनुशार मन्त्री मण्डल समेत गठन भएर योयल,निरवाणे,कम्फर्ट,कहिले नक्शा छपाई रोक्ने–कहिले कार्यकक्षबाट हटाउने सहितका डलरे,युयानी,रुवले,भारुमा जता माल उतै अलमलिने खालका व्यवहारले हाकाहाकी नेपालको रहेको भूभागलाई महाकाली सन्धी पछि भारत कै हो भनेर अनुमोदन गरेपछि मात्र बाटो खुलेकाले फुरुक्क परेर भारतले दावि गर्न थालेको तथा यशबारे चिनलाई कुनै मतलव नभएको एवं विगतमा पूर्व प्रम शेर बहादुरले भारतले भनेर नै नक्शा ओलीले ल्याएका,कोहिले अमेरिकाले भारतलाई नियन्त्रण गर्न ओलिलाई अह्राएकाले नक्शा छापेका हुन भनेर विगतमा कुराहरु आएका सन्दर्भमा भित्र भित्रै लम्पशार बाहिर बाहिर चुच्चे नक्शाको मौशमी हुँकार किन गरेका होलान ? जस्ता कुराहरु गर्ने सुनाउने नेपाली जनतालाई यश्ता कुराहरु कशरी थाहा हुन्छ ? उनीहरुका यश्ता कुराहरु सुन्ने विदेशीहरु पनि अचम्मित हुन्छन होला । तर,मतदानमा छाप लगाउने बेलामा चाहिँ गहिरिएर सोचे जस्तो लाग्दैन । “सबै मानिशहरु बुद्धिजिवि हुन,तर सबै मानिशहरु समाजमा बुद्धिजिविहरुले गर्ने कर्म गर्दैनन्” (अन्तोनीयो ग्राम्शी,इटालीयन माक्र्सवादी नेता) । र,जनता– “नेपालको लागि सवभन्दा ठूलो समश्या एमसीसी हैन,दक्षिणतर्फको खुला सिमाना ठूलो समश्या हो”(प्रकाश कोइराला,प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका जेष्ठ सुपुत्र तथा पूर्व मन्त्री । हिमाल अनलाइन टिभीमा अक्टोम्बर १२,२०२१ मा दिनु भएको एक साक्षात्कार) । “भारत पक्षबाट जस्ता प्रस्तावहरू म प्रम भएको समयमा मेरा सामु राखिएका थिए ती प्रस्तावलाई मैले स्वीकारेको भए शायद म आजसम्म पनि प्रधानमन्त्री भैरहन्थे । तर मैले स्वीकारिनँ”(मरिचमानसिंह श्रेष्ठ, पूर्व प्रधानमन्त्री,५ वैशाख बि.सं.२०५६) । “जनताको आस्था, विश्वास र समर्थनलाई निरन्तर कायम राख्न जनताको सेवा र आफ्नो आचरण नै मुख्य आधार हो भन्ने तथ्य राजनैतिक कार्यकर्ताहरुले कहिल्यै बिर्सनु हुँदैन”( स्व.श्री ५ वीरेन्द्र) । “हरेक ३० घण्टामा १ नयाँ अरबपति र १० लाख नयाँ गरीब”(अकसफाम,बेलायत) । “हाम्रो मुखकों रोटी कशैले खोस्छ भने त्यसको घाँटीमा औंला घुसारेर निकाल्न लाउनु हाम्रो धर्म हो”(प्रेम चन्द,गोदानबाट) । “वास्तवमा राष्ट्रिय आन्दोलनद्वारा राष्ट्रियताको विकाश नभएसम्म कुनै पनि मुलुक न त जीवित रहन सक्छ न विकाश नै गर्न सक्छ”(बीपी कोइराला) । “यतिबेला चौतर्फी पहल गर्ने बेला हो । इतिहाशमा प्रमुख महत्वका प्रश्नहरुको समाधान सडकबाट नै भएका छन”(बिनोद मिश्र,बरिष्ठ राजनीतिज्ञ,भारत) जस्ता बिचारहरु बुझेर सुनेर कानेखुशी गर्दैछन् । ठीक छ ल राजनीति पेशा नै भयो रे कमसे काम अहिलेको स्थितिमा राजनीतिज्ञले पेशाकर्मी भन्दा पेशाधर्मी भै दिएमा धेरै प्रश्नहरुको समाधान खोज्न जनता फेरि सडकमा जानु पर्दैनथ्यो कि,हिंशात्मक बिद्रोह फेरि उठाउनु पर्दैनथ्यो कि ?
नेपालमा जनतान्त्रिक आदर्शको आवरण ओढेर आचरणमा धनतान्त्रिक चर्तिकला छरपष्ट गर्ने बीपीबादीहरु सिपी(मोती)बादी भएपछि र संसदीय जनबादीहरु जिम्दारबादी भएपछि मलाई भारतका साहित्य लेखक लक्ष्मीनारायण पयोधिको ‘गमक’ गजल संग्रहको–“हेरेँ उनको पनि,जात्रा मैले । जसलाई ठाँनेको थिएँ,भगवान जस्तै मैले”भन्ने एक गजलको पंक्ति सम्झना भयो । उक्त गजल संग्रहबाट पयोधि महाशय कै अर्को गजल–“म त व्याकुल वास्तविकतालाई बचन पो दिन्छु । तपाईँले चाहिँ भन्नु हुन्छ(मलाई आरोप लाएर) बिद्रोहलाई तूफान दिन्छु”वाचन गर्दै व्याकुल वास्तविकताको यो गन्थनलाई यसपटकको लागि बिश्राम दिन्छु । गणतन्त्रबाट अझै आशा गर्नेहरू तथा गणतन्त्रबाट समृद्ध–सभ्रान्त सुकीलोपनले सुसज्जित भै सकेका सबैमा नेपालमा बि.सं.२०८१ जेठ १५ का दिन मनाइने गणतन्त्र दिवशको उपलक्ष्यमा हार्दिक शुभकामना !
(प्रतिकात्मक बिम्ब,तस्वीर श्रेय ःसवितेश मुखर्जीलाई अवगत गराएर ब्यङ्गचित्र साभार सहित अरु पनि सामाजिक सञ्जालबाट–बिभिन्न मितिमा सङ्कलन मार्फत गुगल इन्टरनेट,ओखरेनी साप्ताहिकबाट । सबै बिम्वहरुको कलात्मकरुपमा सन्धिगरेर सहयोग गर्नुहुने–श्री अरुण भण्डारी,अंग्रेजी शिक्षक,श्रम राष्ट्रिय मावि,काठमाडौँ वार्ड नं.७) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *