२५ वर्ष अघिको ‘सत्याग्रह’

पच्चीस वर्ष पूरा गरेर २६ वर्ष लागेको छ ‘सत्याग्रह’, अर्थात् पूर्ण जवान भएको छ । यसबीच केही वर्ष थकाइ मारे पनि यसका करीब ८,००० पृष्ठ छापिइसकेका छन् । एउटै विचार, एउटै निष्ठा, एउटै लगन लिएर यति लामो यात्रा तय गर्नु चानचुने कुरा होइन, त्यो पनि डिजिटल मिडियाले प्रिन्ट मिडियालाई खुम्च्याउँदै लगेको आजको समयमा । जन्मदातामध्ये एक भएको नाताले मलाई यसमा गर्व छ र म ‘सत्याग्रह’ को उज्ज्वल भविष्यको कामना गर्दछु । भनिन्छ, अखबारमा छापिएका सामग्री अर्को अंक आइपुग्दा बासी हुन्छन् । पुराना अंकका सामग्री असान्दर्भिक भइसक्छन्, इतिहास बुझ्न मात्र काम लाग्छन् । ‘सत्याग्रह’ पनि यस्तै अखबार थियो कि यो अरूभन्दा फरक थियो त रु हेरौं, आजभन्दा २५ वर्ष अघि, २०५६ साल भदौ ७ गते यसको दोस्रो अंकमा ‘कुम्लो बोकी ठिमीतिर’ स्तम्भमा छापिएको यो व्यंग्य रचना, जसलाई ‘आज भर्खर लेखेको कुरालाई २५ वर्ष अघिको भन्ने रु’ भनेर तपाईं रिसाउनुभयो भने पनि सम्पादक सीतारामजीले शायद अन्यथा लिनुहुनेछैन ।

दुई हप्ताको उपलब्धि । शरच्चन्द्र वस्ती
सोह्रौं संसदीय अधिवेशनको त्रिपन्नौं दिन ।
सभामुखले ‘अब आजको बैठकको कार्बाही शुरू हुन्छ’, भनिसक्ता नसक्तै विपक्षी बेन्चबाट एकैचोटि चारजना सांसदले हावामा मुड्की उचाले, ‘नियमापत्ति सभामुख महोदय १’ ‘बैठकको कार्बाही नै शुरू नभई केको नियमापत्ति माननीयज्यू, तपाईंको ?’ ईषत् हाँस्यका साथ सभामुखले तीमध्ये एकजनातिर औंलो तेस्र्याए । ‘सभामुख महोदय, श्रममन्त्री सदनमा उपस्थित नभएर बैठकको कार्बाही अवरुद्ध भएको आज तीन दिन भैसक्यो । तर आज पनि म उहाँलाई यहाँ देखिरहेको छैन । यो गरिमामय संसदको ठाडो अपमान हो । उहाँलाई उपस्थित नगराइएसम्म बैठकको कार्बाही अघि बढ्न सक्तैन सभामुख महोदय’, उनले चर्को स्वरमा भने । विपक्षी सांसदले टेबुल ठटाएर उनको समर्थन गरे । तर एकजनाले अझ पनि हात उठाइरहेकै थिए । ‘तपाईं के भन्न चाहनुहुन्छ माननीयज्यू ?’, सभामुखले प्रश्न गरे । ‘सभामुख महोदय, गत वर्ष मुलुकभरि कार्बाहीमा परेका श्रमिकहरूको कुल संख्या सरकारले प्रकाशित गरेको एउटा किताबमा ९३५ छ, अर्कोमा ९३६ छ । तीमध्ये कुन आधिकारिक हो, सरकारले बताउनुपर्छ र सदन समक्ष माफी माग्नुपर्छ । गरिमामय संसदलाई यसरी गुमराह बनाउन पाइँदैन ।’ विपक्षी बेञ्चले झन् जोडले टेबुल ठोक्यो । ‘यसबारे सदनलाई स्पष्ट पारिदिनुहुन म माननीय गृहमन्त्रीलाई अनुमति दिन्छु’, सभामुख मुस्कुराए । सत्तापक्षको अघिल्लो बेञ्चमा बसिरहेका गृहमन्त्री अल्छी मान्दै उभिए र प्रतिवाद गरे, ‘यो विषय प्रत्यक्षतः श्रममन्त्रीकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले उहाँको तर्फबाट जवाफ दिन म असमर्थ छु, जुन कुरा मैले अस्ति र हिजो समेत निवेदन गरिसकेको छु, सभामुख महोदय !’
बोल्नासाथ एउटा अंक गलत हो भनेर क्षमा माग्नुपर्ने भएकाले त्यसो गर्न उनी तयार नभएको स्पष्ट थियो । ‘सरकारले माफी नमागेसम्म सदन चल्न सक्तैन’, विपक्षी बेञ्चबाट एकैचोटि सामूहिक स्वर निस्कियो र टेबुलहरू लगातार ठोकिन थाले । १५ मिनेटसम्म त्यो टेबुल–राग नटुंगिएपछि सभामुखले एक घण्टाका निम्ति बैठक स्थगित गरे र सांसदहरू हाँस्तै क्यान्टिनतिर लागे । बैठक दुई घण्टापछि शुरू भयो । पहिलेको तुलनामा एक–तिहाई मात्र सांसद बाँकी थिए । सभामुखले भने, ‘माननीय श्रममन्त्रीज्यू सुत्केरी व्यथा लागेर हिजो बिहान प्रसूतिगृहमा भर्ना हुनुभएको थियो र साँझ उहाँलाई पुत्रलाभ भएको छ । त्यसैले उहाँ हाललाई संसदमा उपस्थित हुन असमर्थ हुनुहुन्छ ।’
उनको कुरो टुंगिन नपाउँदै देब्रेतिरको बेञ्चबाट धेरैले नियमापत्ति गरिसकेका थिए । एकजना चिच्याए, ‘लेबर मिनिस्टरलाई नै लेबर पेन (सुत्केरी व्यथा) ? योभन्दा ठूलो विडम्बना के हुन सक्छ सभामुख महोदय ?’ सदनमा अट्टहास गुंजियो जसलाई सत्तापक्षले पनि साथ दिएको थियो । एउटी महिला सांसद जुरुक्क उठिन् र घाँटी चिरिने गरी कराइन्, ‘एकजना महिला विरुद्ध पुरुषप्रधान समाजको घृणित पूर्वाग्रह प्रतिबिम्बित भएको छ यहाँ, सभामुख महोदय । म सम्पूर्ण महिला सांसदहरूलाई पार्टीगत पूर्वाग्रहभन्दा माथि उठेर यसको सशक्त विरोध गर्न आग्रह गर्दछु ।’ भएजति महिला सांसदहरू दुवै हातले टेबुल ठटाउन थाले । सभामुखको श्रीमुखबाट गम्भीर वाणी प्रस्फुटित भयो, ‘माननीय सांसदहरूलाई यस्तो संवेदनशील विषयमा ठट्टा नगर्न अनुरोध गर्दछु ।’ अघिदेखि बीचबीचमा हात उठाइरहेका अर्का सांसदले स–सानो भाषण दिंदै भने, ‘श्रममन्त्रीलाई पुत्रलाभ भएको जस्तो अति संवेदनशील विषयबारे बैठकको शुरूमै जानकारी नदिएर सरकारले गरिमामय संसदको घोर अपमान गरेको छ सभामुख महोदय । एउटा बहालवाला मन्त्रीसँग सम्बन्धित यति महत्वपूर्ण सूचना, त्यो पनि संसद चलिरहेको वेला त सरकारले यसरी लुकाउँछ भने लाखौं–करोडौं भोका–नाङ्गा आम जनताको अवस्था कस्तो होला रु सरकारको नालायकी र गैरजिम्मेदारीको योभन्दा ज्वलन्त उदाहरण अरू केही हुन सक्दैन । यस्तो सरकार सिंगै प्रसूतिगृहमा भर्ना भए पनि मुलुकलाई केही फरक पर्नेवाला छैन ।’ सदनमा अर्को अट्टहास थर्कियो । ‘सरकारले यसबारे पनि सदन समक्ष माफी माग्नुपर्छ’, बायाँतिर पछिल्लो लहरमा बसेका एकजना माइक समातेर च्याँठ्ठिए । ‘अरू कुरा थाहा छैन, श्रममन्त्री सदनमा आएर माफी नमागेसम्भ संसद चल्न सक्तैन’, प्रमुख प्रतिपक्षका तर्फबाट अर्का सांसदले अडान प्रस्तुत गरे । विपक्षी बेन्चले फेरि जोडदार ढंगले टेबुल ठोक्यो । सत्तापक्ष यी सब होहल्लासँग निस्पृह भएर आपसमा साउती गर्दैथियो । एक–दुई जना, विपक्षी बेञ्चमा नजीकै बसेकाहरूसँग ठट्टा गरिरहेका थिए । एकजना मन्त्रीले निकै अघिदेखि जुम्रा सर्ने गरी टाउको जोरेर खासखुस गरिरहेका सांसदलाई आश्वस्त तुल्याए, ‘त्यसो भए हुन्छ, उसलाई लिएर मन्त्रालय आउनुहोला, म भोलि नै काम टुंग्याइदिन्छु ।’ ‘अर्को बैठक भोलि बिहान ११ बजे शुरू हुनेछ’, सभामुखले भनेपछि त्यस दिनको बैठक टुंगियो । भोलि, पर्सि, निपर्सि हुँदै अरू ११ दिनसम्म बैठक त्यसैगरी शुरू हुँदै, स्थगित हुँदै रह्यो । त्यसपछि बल्ल, छोराको न्वारन सकेर जसैतसै सदनमा उपस्थित भएकी श्रममन्त्रीले स्पष्टीकरण दिइन् ः ‘गत वर्ष कार्बाहीमा परेका श्रमिकहरूको कुल संख्या ९३५ नै हो जुन तथ्य दुवै किताबमा दिइएको महिनाबारी लगत जोड्दा स्वतः स्पष्ट हुन्छ । एउटा किताबको कुल संख्यामा प्रूफको गल्ती छुटेको मात्र हो । यस्ता महत्वहीन स–साना गडबडी प्रमुख प्रतिपक्ष सरकारमा छँदा पनि हुँदै आएका हुन्, यसमा सरकारले माफी माग्नुपर्ने सवालै उठ्तैन ।’ विपक्षले हाँस्तै टेबुल ठोक्यो र सभामुखसँगै सत्तापक्ष मुस्कुरायो । विपक्ष मन्त्रीलाई सदनमा उपस्थित हुन बाध्य गराउन सफल भएकोमा कृतकृत्य थियो भने सत्तापक्ष सदनमा चौबीसौं माफी माग्नु नपरेकोमा गद्गद । दुई हप्ता लामो अवरोध टुंगिएकोमा खुशी हुँदै सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेर क्यान्टिनको चियापानपछि सदनमा अर्को विषय प्रस्तुत गर्न खोजे । उनको वाक्य पूरा नहुँदै देब्रेतिरको बेञ्चबाट चिरपरिचित शब्दावली गुन्जियो, ‘नियमापत्ति सभामुख महोदय !’
अर्थात्, संसदले अर्को महत्वपूर्ण विषयमा प्रवेश गरिसकेको थियो ।
सत्याग्रह, वर्ष १ अंक २, २०५६ साल भाद्र ७ गते सोमवार ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *