आत्मनिर्भर अर्थतन्त्रको जग बसालौँ
नेपालको अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ । वैदेशिक ऋणको भारी थामी नसक्नुले बढेको छ । ठुला ठुला परियोजनाहरू अलपत्र जस्तै बनेका छन् । वार्षिक बजेटमा नाम मात्रको रहने पुँजीगत रकमको पचास प्रतिशत पनि खर्च हुँदैन । सरकारी टेन्डरमा काम गर्ने ठेकादारहरूले दुई वर्षदेखि भुक्तानी नपाएको गुनासो बारम्बार सुनिन्छ । पहुँचवाला ठेकादारहरू अर्बौँ रकम लिएर कामै नगरी बसेका छन् । भ्रष्टाचार दिन दुई गुण रात चौगुनाको दरले बढेको छ ।
राजनीतिक भ्रष्टाचारले नेपालको छवि अन्तर्राष्ट्रिय रूपमा नै बदनाम भएको छ । सुशासनको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रिपोट र नेपालको प्रशासनयन्त्र, राजनीतिक दल र सरकारको अपारदर्शी क्रियाकलाप बारे बारम्बार प्रश्न उठाएका छन् । तर, त्यसलाई हरदम बेवास्ता गरिँदै आएको छ । सहकारी, बैक तथा वित्तीय संस्थामा भएका अनियमितताका घटनाले नेपाली जनता नराम्रोसँग तर्सिएका छन् । घुस नखाने कुनै कर्मचारी छैन र भ्रष्टाचार नहुने कुनै निकाय छैन भन्ने मान्यतालाई घटनाक्रमले पटक-पटक पुष्टि गरिरहेका छन् । चुनावको बेला सबै पार्टीले घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका ठुलठुला कुरा उल्लेख गर्छन् तर चुनाव जितेर सरकारमा पुगेपछि त्यसको ठिक विपरीत आचरण गर्छन् । यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ । यसलाई प्रभावकारी रूपले रोक्ने गरी आजसम्म कसैले पनि ठोस कदम उठाएको छैन । नेपालको दुई ठुला छिमेकी र अन्य मित्र राष्ट्रसँगको व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ । ठिक यस बेला नेपाली युवाको विदेश पलायनको दर अकल्पनीय रूपले बढेको छ । यी तमाम घटनाक्रमले नेपालको भविष्य अन्योलग्रस्त, अनिश्चित र सङ्कटापन्न रूपमा रहेको सङ्केत दिन्छ ।
यस्तो बेला देशको अर्थतन्त्रमा सुधार ल्याउन र सङ्कट हटाउन सरकारले ठोस कदम उठाउनु पर्ने हो तर आजसम्म कुनै पनि सरकारले त्यस दिशामा सोचेकोसम्म देखिँदैन । विकास माथि राजनीतिक गर्ने, देशको अर्थतन्त्रलाई खोक्रो बनाउने कुरामा अस्वस्थ रूपले होडबाजी चलेको छ । अर्थतन्त्र राजनीतिको मेरुदण्ड हो, यसलाई मजबुत नबनाई कुनै पनि मुलुकले विकासमा फट्को मार्न सक्दैन भन्ने ज्ञानै नभएर हो वा स्वार्थको पर्दाले ढाकेर हो हाम्रा शासकहरू यी कुरालाई नजरअन्दाज गरिरहेका छन् । यस्तै अवस्था रह्यो वा यो स्थितिले बढवा पायो भने नेपालले धेरै समय आफूलाई धान्न सक्दैन ।
तसर्थ, नेपालको अर्थतन्त्रमा सुधारका कदम तत्काल चालिहाल्नुपर्ने अवस्था आएको छ । नेपालको अर्थतन्त्र सुधारको मूल आधार भनेको आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु हो । सरकारले आत्मनिर्भरताका क्षेत्रको पहिचान गरेर त्यसलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अठोट ग¥यो भने त्यो असम्भव पनि छैन । कृषि, पशुपालन, जडीबुटी, ऊर्जा, सिँचाई जस्ता क्षेत्रमा लगानी बढाएर रोजगारीको अवसर बढाउने र संवृद्धिको आधारलाई मजबुत गराउने सम्भावनातर्फ दृष्टि पु¥याउनु जरुरी छ । प्राविधिक शिक्षा, पर्यटन व्यवसाय, हस्पीटालिटी सेवा, स्वास्थ सेवा जस्ता क्षेत्रमा पनि लगानी बढाएर आर्थिक क्षेत्रलाई सबल बनाउन सक्ने सम्भावना प्रचुर छ । त्यसका लागि सबै राजनीतिक दल र तिनका नेतामा सत्ताको अनुचित आग्रह रहनु हुँदैन । देशको संवृद्धि भन्दा ठुलो सत्ता होइन ।
सत्ता क्षणिक कुरा हो तर संवृद्धिलाई युग युगसम्म टिकाउने आधार तयार पार्न सकिन्छ । त्यस कारण देशको विकास गरेर यसको मुहार फेर्न आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको लागि हामी सबैको प्राथमिकताको विषय बन्नुपर्छ । त्यसलाई राजनीतिक स्वार्थको कैदी बनाएर कसैले पनि देश र जनताप्रति घात गर्नु हुँदैन ।