बुढीगण्डकी हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत लगानी
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ कुल लागत रहेको यस आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ । राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । बर्खामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर विजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले हस्ताक्षर गरे । अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्रबहादुर ढकाल र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।
सो समूहले यसअघि सोही क्षेत्रमा तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ । साथै प्राथमिक सेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी गर्ने तयारीमा कम्पनी रहेको छ । बुढीगण्डकी हाईड्रोपावर १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले ६ महिनामा सर्वसाधारण लगानीकर्ताका लागि सेयर जारी गर्नेछ । यससँगै २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर निर्माण गर्ने योजना रहेको प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले बताए ।