काँग्रेसले सभापति बन्ने योग्य नेता पाएन
काठमाडौँ । नेपाली राजनीतिको कमजोर सैद्धान्तिक जगलाई सामाजिक सञ्जालले हल्लाउने कोशिस गरिरहँदा त्यसको निशानमा अहिले नेपाली काँग्रेस परेको छ । वि.सं २००७ सालको क्रान्ति, २०४६ साल र २०६२/६३ सालको संयुक्त जनआन्दोलनको नेतृत्व गरेको काँग्रेस अहिले नेतृत्वको अक्षमताका कारण कुहिरोको काग झैँ बन्न पुगेको छ । आन्दोलनको सफल नेतृत्व गरे पनि पार्टी सञ्चालन, सत्ता र सरकारको नेतृत्व गर्ने मामिलामा त्यो दल कहिल्यै सफल रहेन । २००७ सालदेखि नै पटक पटक सत्तामा सहभागी भएको सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस अहिले एमाले अध्यक्ष खड्ग ओलीको नेतृत्वमा सरकारमा छ ।
सरकारमा हुँदा पनि उसले क्रान्ति, आन्दोलन र सङ्घर्ष झैँ दृढतापूर्वक काम गर्न भने सकेको छैन । यो नेपाली जनताले प्रत्यक्ष देखेको र अनुभव गरेको कुरा हो । सरकारमा गएपछि उन्माद हुने, सत्ता स्वार्थ र आर्थिक लालचका कारण भ्रष्टाचारको दलदलमा फस्ने रोग नेपाली काँग्रेसमा सुरुदेखि नै थियो । पार्टीलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्ति पनि नयाँ होइन । स्वयं बिपी कोइरालाले आफ्नो आदर्श र मान्यतालाई कुल्चिएको इतिहास छ, काँग्रेसमा । २००८ सालमा काँग्रेस सभापति रहेका मातृका प्रसाद कोइरालालाई राजाले प्रधानमन्त्री नियुक्त गरेपछि बिपीले एक व्यक्ति एक पदको नारा लगाएर मातृका प्रसादलाई कि पार्टी सभापति छोड्न कि प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिए तर मातृका प्रसादले दुवै पद नछाडेपछि पार्टी सभापतिबाट हटाइए । त्यही कुरा स्वयम बिपीले ८ वर्षपछि अर्थात् २०१६ सालमा प्रधानमन्त्री बनेपछि मानेनन् । उनी पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा कायम रहे । यसरी काँग्रेस नेताहरूले आफ्नो स्वार्थ अनुकूल मान्यता निर्माण गर्दै आएका छन् । पार्टीभित्र गुटबन्दी, विवाद र अन्र्तद्धन्द्ध त नेपाली काँग्रेसको जन्मजात रोग हो । राष्ट्रिय काँग्रेस र प्रजातन्त्र काँग्रेसको एकीकरणबाट निर्माण भएको नेपाली काँग्रेस दुई दलको अस्तित्व नमेटाई बनेको लुजफेडरेशन जस्तो मात्रै थियो । आज पनि लगभग त्यस मूलभूत स्वरूप त्यस्तै छ । प्रजातन्त्र र मानव अधिकारको मामिलामा कटिबद्ध रहने भनेर विश्वास गरिने काँग्रेसभित्र अब बिपी, गणेशमान, सुवर्ण, कृष्ण प्रसाद र गिरिजाप्रसादको जस्तो आदर्श पनि बाँकी रहने । सत्ताका लागि शेरबहादुर, खुमबहादुर पार्टी फुटाउने देखि शक्ति नै दरबारमा बुझाएको कटु अनुभव पनि छ । त्यो घटना धेरै पुरानो भएको पनि छैन । अहिले एमालेसँग मिलेर सत्तामा पुगेको काँग्रेस भित्र महाधिवेशनको चर्चा सुरु भएको छ । त्यसो त काँग्रेस महाधिवेशनले जहिले पनि चर्चा पाउँछ । यस पटक मुलुक गंभिर आर्थिक सङ्कटमा फसेको छ, मुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर छ, भ्रष्टाचार बढेर गएको छ । महँगी, बेरोजगारी र विकृतिबाट नेपाली जनता वाक्क दिक्क बनेर केही स्टन्टवाज तर्फ आकर्षित हुन लागेको सङ्केत देखिँदै छ । यस्तो वेला काँग्रेसको साख बचाउने, मुलुकलाई सुशासन, शान्ति र अमनचैन प्रधान गर्ने क्षमता भएको सुयोग्य, सक्षम र दूरदर्शी नेताले काँग्रेसको लगाम सम्हालोस् भन्ने चाहाना पार्टी कार्यकर्ता, शुभचिन्तक र आम जनताको हुनु स्वाभाविक पनि हो ।
तर सोसल मिडियाको दुरुपयोग, गालीगलौजको प्रवृत्ति र चरित्रहत्यामा लाग्नेहरूले जनतालाई निराश नै बनाउदैछन । काँग्रेसमा जहिले पनि बलियो नेता खोज्ने प्रवृत्ति हाबी छ । सामूहिक नेतृत्व भन्ने कुरा काँग्रेसको इतिहासमा कहिल्यै नस्विकारिने कुरा हो । सुशील कोइरालाको मृत्यु पछि देउवालाई परिपक्व, सक्षम र काँग्रेसको वेडा पार गराउन सक्ने ठानेर जिताइएको हो, देउवा गुट मजवुद भएर होइन । अहिले काँग्रेसको विधानले देउवालाई उम्मेदवार बन्न दिँदैन । उनले विधानले दिएको सुविधा अनुसार दुई कार्यकाल सभापति पद सम्हालिसके । अबको महाधिवेशनमा कसले बाजी मार्छ भन्ने कुराको भने अझै ठेगान छैन । आजसम्म नेपाली काँग्रेसलाई सम्हाल्नेहरू परिपक्व र जिम्मेवार देखिएका थिए । अब त्यो अवस्था कायम रहन्छ कि रहँदैन भन्ने आशङ्का उत्पन्न भएको छ । वाक पटु, चतुर तर अपरिपक्व र उछृंखल व्यक्तिहरूलाई अघि सार्नुपर्छ भनेर सामाजिक सञ्जालमा रङ्गाउने काम व्यापक रूपले भइरहेको छ । त्यसमा व्यक्तिभन्दा प्रवृत्ति जिम्मेवार देखिने अवस्था छ । नेपाली काँग्रेस भनेको कोइराला र कोइराला भनेको नेपाली काँग्रेस भन्ने मान्यता काँग्रेसमा लामो समय कायम रह्यो । सुवर्ण शमशेर काँग्रेस सभापति रहँदा पनि काँग्रेस नै हाबी रह्यो कृष्णप्रसाद भट्टराई सभापति रहँदा पनि त्यस्तै थियो तर कोइराला परिवारमा एकता नहुँदा देउवा सभापति रहँदा कोइरालाको भूमिका कमजोर देखियो । अव कोइराला परिवारका नेता. डा. शेखर डा. शशाङ्क सुजाता आदि एकजुट भएर महाधिवेशन फेस गर्ने तयारी गरिरहेको सङ्केत देखिएको छ । त्यही सङ्केत पाएर देउवाको गुटमा रहेका प्रभावशाली नेताहरू धमाधम कोइराला क्याम्पमा जाँदै छन् । यसले पनि स्पष्ट सङ्केत गरेको छ कि अब काँग्रेसमा देउवा क्याम्प भन्दा कोइराला क्याम्प बलियो रूपमा प्रस्तुत हुने निश्चित छ । व्यक्ति को हुन्छ, नेता कसलाई अघि सारिन्छ अब त्यो गौण भएको छ ।
तर दुई समूहको रूपमा हिसाब गर्दा कोइराला समूह तुलनात्मक रूपमा बलियो देखिदैँछ । त्यसको छनक पाएर नै होला सायद भरखरै देउवा क्याम्पमा प्रवेश गरेका महामन्त्री गगन थापाको पक्षमा सामाजिक सञ्जाल मार्फत प्रचारबाजी सुरु भएको छ । र, त्यो पनि अशिष्ट, अराजनीतिक र भद्दा गाली गलौचको रूपमा । त्यसमा गगनको सहमति कति छ, त्यो त भन्न सकिँदैन तर त्यसले उनको आगामी राजनीतिक यात्रालाई असहज बनाउने भने निश्चित छ । थापा स्वयमका अभिव्यक्ति पनि उछृंखल, अराजक र गैर उत्तरदायी र अपरिपक्व देखिन्छन् । कहिले नाङ्गै थानकोट कटाइदिनु भन्ने त कहिले के यसरी त एउटा जिम्मेवार नेताको छवि निर्माण हुन सक्दैन । कोइराला पक्षबाट उम्मेदवारी दिने सम्भावित नेताको रूपमा हेरिनु भएका डा. शेखर कोइराला पनि त्यति परिपक्व रूपमा प्रस्तुत हुन सक्नुभएको छैन । कैयौँ सवालमा उहाँ पनि निक्कै फितलो रूपमा प्रस्तुत हुने गर्नु भएको छ । यसरी त उहाँले पनि कांग्रेसको परम्परा धान्न सक्ने देखिदैन । यसवाहेक गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनरायण निधि पुत्र विम्लेन्द्र पनि कांग्रेस सभापति पदका आकांक्षी रहेका छन । महाधिवेशनको तिथि निश्चित नहुदा सम्म आकांक्षीको हिसावकिताव लगाउन अप्ठेरै छ ।
अरु पनि धेरै आकांक्षी हुन सक्छन । तर जित्ने चाँहि दुई वटा क्याम्प मध्येबाटै हो भन्ने निश्चित छ । महाधिवेशन समयमै गर्ने र आफु सभापति जितिहाल्ने कुरा अहिले कसैले पनि ग्यारेन्टी गर्न सम्भव छैन कांग्रेसमा तर एउटा लामो इतिहास वोकेको जेठो प्रजातान्त्रिक पार्टीको सभापतिमा दावी गर्ने नेताले आफुलाई त्यस योग्य भने वनाउनै पर्छ । बोल्दा व्यवहार गर्दा त्यस कुराको ख्याल राख्नु जरुरी छ ।