युद्ध रोकिने सङ्केत

काठमाडौँ । पूर्ण विराम लागेको ठानिएको तेस्रो विश्वयुद्धको खतरा निम्त्याउने गरी विश्वलाई नै ध्रुवीकरण गरिरहेको रुस–युक्रेन युद्धलाई निकास दिने अमेरिकी विवादास्पद प्रयास पुनः प्रारम्भ हुने सङ्केत देखिएको छ ।

युक्रेनले युक्रेनका खानी एवं खनिज संसाधन सम्बन्धी सम्झौता गरे अमेरिकाले रुससँगको युद्ध अन्त्य गराउने आश्वासन अमेरिकाले दिएको थियो । अमेरिका र युरोपियन मुलुकहरूको आश्वासन तीन वर्ष अघि रुससँग युद्धमा होमिएको युक्रेन अहिले धान्नै नसक्ने अवस्थामा पुगेको छ । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै अमेरिकाले युक्रेनलाई सहायता निरन्तरता नदिने सङ्केत गरिसकेको थिए । ट्रम्पको त घोषणा पत्रमै रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रतिबद्धता थियो । अघिल्लो कार्यकालमा डोनाल्ड ट्रम्पले चुनाव जित्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहायता लिएको कुराले तहल्कै मच्चाएको थियो । अहिले पनि पुटिन र ट्रम्पबिच सुमधुर सम्बन्ध रहेको बताइन्छ । युक्रेनसँगको युद्ध अन्त्य गराउँदा पनि ट्रम्पले रुसलाई नै लाभ हुने गरी काम गराउने सङ्केत देखाएका छन् । कतिपय वार्तामा समेत युक्रेनलाई बाइपास गराउने गरेका घटनाले पनि अमेरिका रुसको पक्षमा रहेको प्रस्ट देखिन्छ ।

गत शुक्रवार अमेरिकामा खनिज सम्झौता गर्ने गरी वार्ता गर्न ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमर्यादित व्यवहार भएको घटनामा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको हरकतले जेलेन्सीप्रति सहानुभूति बढेको थियो । वार्ताबाट धक्का दिएर निकालिएका जेलेन्स्की सिधै बेलायती प्रधानमन्त्रीकोमा पुगेका थिए । उनले बेलायतबाट तीन खर्बभन्दा बढी रकम हात पारेका थिए । बेलायतले दिएको रकम युद्धका लागि हातहतियार किन्न खर्च गर्ने घोषणा गरेका युक्रेनी राष्ट्रपति यस पटक भने अलि सुझबुझ र परिपक्व देखिए । रुस र अमेरिका मिल्दा बाँकी दुनियाँले केही गर्न सक्दैन भन्ने ज्ञान उनलाई यस पटक फुरेको छ । फेरी अमेरिका चिडियो भने ढिलोचाडो युरोपियनहरू पनि आफूप्रति सहानुभूतिशील हुन नसक्ने बुझेको युक्रेनले आफूलाई शान्ति विरोधी र युद्धको पक्षमा देखाउन चाहेन । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन चाहेको आरोप लगाएपछि उनी थप समस्यामा फसेका थिए । आफूलाई संसार भरिनै युद्धको पक्षधर भएको आरोप लागिरहेका जेलेन्स्कीले रुससँग युद्धलाई जारी राख्नै पनि अमेरिकाको सहयोग नभई हुनुन्थ्यो । सुरुमा रुससँग युद्धका लागि जोरी खोज्दा पनि अमेरिकाकै आड भरोसामा त्यो काम भएको थियो । तीन वर्षसम्म रुस जस्तो विश्व शक्तिसँग युद्धमा टिकिरहन उसले अमेरिका र युरोपियन राष्ट्रहरूकै सहयोगमा भर परेको थियो । पछिल्लो अमेरिकी निर्वाचनमा ट्रम्प विजयी भएपछि देखिनै युक्रेन दबाबमा थियो ।

ट्रम्पले युक्रेनलाई अहिलेसम्म नै बहुत धेरै खर्च गरिसकेको र थप सहायताका लागि युक्रेनले पनि अमेरिकालाई केही गर्नुपर्ने सर्त राखेका थिए । युक्रेनसँग खनिज सम्झौता त्यसैको परिणति थियो । तर त्यो सम्झौता पनि सहज र निविन्न हुन सकेन । अमेरिका खनिज सम्झौतामा हस्ताक्षर गरेर पनि रुसको हात माथि पर्ने गरी वर्तमान युद्ध टुङयाउन चाहन्थ्यो । त्यसमा जेलेन्स्की सहजै सहमत हुन सकेनन् । उनले आफ्नो पनि हात तल नपर्ने गरी अर्थात् युक्रेनको स्वतन्त्रता र सार्वभौमिकतामा आँच नपु¥याई युद्ध विराम गर्ने चाहना राखेका थिए । उनको अडानले अमेरिकाको अहममा धक्का पुगेको ठानेर उपराष्ट्रपति र राष्ट्रपति सामान्य कूटनैतिक सीमा र मर्यादा उल्लङ्घन गर्ने गरी प्रस्तुत भए । अमेरिकाको अमर्यादित व्यवहारका बाबजुद युक्रेनले युद्ध जारी राख्ने शक्ति सञ्चय गर्न सकेन। यद्यपि, उसले विश्व जगतको सहानुभूति भने पाएकै थियो । तर सहानुभूतिले मात्रै त युद्धमा जित हासिल गर्न सम्भव हुँदैनथ्यो । त्यसैले एक हप्ता पनि नबित्दै युक्रेनी राष्ट्रपतिले अमेरिकालाई चिठी लेखेर आफू सबै अमेरिकी सर्त मानेर हस्ताक्षर गर्न राजी भएको जानकारी दिए । उक्त पत्रलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सिनेटको बैठकमा वाचन गरेरै सुनाए । पत्रमा अमेरिकासँग गरिने खनिज सम्झौतामा हस्ताक्षर गर्न जुनसुकै वेला तयार रहेको बेहोरा उल्लेख छ । अमेरिकाकै उक्साहटमा युद्धमा होमिएको युक्रेन साधन श्रोत विहीन र निसाय अवस्थामा पुग्नु भनेको विश्व शक्ति सन्तुलनको दृष्टिले पनि उचित थिएन । तर युद्ध जारी राख्नु पनि घातक बन्दै जाँदै थियो । त्यही युद्धको कारण संसार अहिले अनेकौँ समस्यामा फस्दै गएको छ । आर्थिक सङ्कट, महँगी, अनेक रोगव्याधी र मानवीय क्षतिको अटुट शृङ्खलालाई रोक्न पनि युद्ध अन्त्य अनिवार्य भइसकेको थियो । त्यो कुरा युक्रेन भन्दा अमेरिका र रुसले बढी बुझेका थिए । युद्ध रोक्ने कुरामा सहमत भए पनि युक्रेन चाहिँ आफू हारेका देखाउन चाहँदैनथ्यो ।

अमेरिका भने युक्रेनलाई पाठ सिकाएरै युद्धको अन्त्य गराउने पक्षमा थियो । अहिलेको अमेरिका युक्रेन द्वन्द्वको कारण त्यही नै हो । पछिल्लो विकसित घटनाक्रमले युद्ध रोकिने सङ्केत त दिएको छ तर संसार भरिनै युद्धपिपाशु शक्तिको भने कुनै कमी छैन । इजरायल प्यालेस्टाईन युद्ध पनि हाल अस्थायी रूपले विरामको स्थितिमा छ । सांसदलाई नै तङ गर्ने र विश्व अर्थतन्त्रमा प्रभाव पार्ने यो युद्ध पनि सदाका लागि अन्त्य हुनुपर्छ । इन्धन आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने खाडी मुलुकको युद्धमा उल्झन राम्रो कुरा होइन । यसले सांसदकै जनजीवनलाई कष्टकर बनाउँछ । अहिले संसारभरिका मान्छेको सहज जीवन यापनमा समस्या बनेका यी दुई वटा युद्ध विराम तर्फ जानु सकारात्मक कुरा हो । युद्ध यसै पनि विनाशको सङ्केत हो । युद्धमा दुई देशको तुष्टिका लागि लाखौँको अनाहकको बलिदान दिइन्छ ।

युद्धलाई नियन्त्रण गर्न शान्तिको हात बलियो बनाउनु पर्छ । तर अहिले संसारभरि मडारिइरहेको युद्धको बादल हटाउने सामथ्र्य राख्ने कुनै शक्ति छैन र आफ्नो स्वार्थ छाडेर कोही शान्तिप्रिय बन्ने सम्भावना पनि छैन । अतः स्थायी शान्ति अझै धेरै टाढा छ । तर अस्थायी नै सही हाललाई भने युद्ध रोक्ने चाहना र तत्परता अमेरिकाले नै देखाएको छ । इमानदारीपूर्वक त्यो दायित्व उसले निभायो भने त्यसलाई राम्रै मान्नु पनि पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *