भण्डारी र पुनको अनुचित पद मोह

  • राष्ट्रकै बेइजत हुँदैछ

काठमाडौँ । राजतन्त्रको अन्त्यपछि पनि राजा बन्न खोज्ने प्रवृत्ति झन् प्रबल रूपमा देखिएको छ । त्यस्तो दौडमा पूर्व राष्ट्र प्रमुख, उपप्रमुख नै अग्र भागमा देखिएका छन् । राजालाई लोकतन्त्रको दुस्मन भनेर विस्थापित गरेपछि बनेका नयाँ राजाहरूको हर्कतले अहिले नेपाली जनता आजित भएका छन् । राजाको भन्दा बढी शक्ति चाहिने, ऐयाशी जीवनशैली जिउन खोज्ने राष्ट्रप्रमुख र सरकार प्रमुखका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बदनाम बन्न पुगेको छ । बदनाम लोकतन्त्रलाई थप बदनाम गराउन राजनीतिक दलहरू गति छाडेर लागेका छन् । त्यसमा सत्तारुढ एमाले र प्रमुख विपक्षी दल माओवादी केन्द्र नाङ्गो रूपमा पेस भएका छन् ।

तिनले संविधान, ऐन कानुन, नियम र परम्परा मात्र होइन राष्ट्रप्रमुखको मर्यादा र गरिमा समेत लाई धुलोमा मिलाउने काम गरेका छन् । एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी पाण्डे (भण्डारी) ले पदमा हुँदा जुन ऐयास गरिन, जस्तो व्यवहार देखाएकी थिइन् त्यसलाई नेपाली जनताले बिर्सिसकेका छैनन् । सवारीमा चार घण्टा ट्राफिक जाम देखि वीर अस्पताल अगाडी बाटो काट्ने डाक्टरमाथि निर्घात कुटपिट, राष्ट्रपतिको शान देखाउने लालचमा आन्दोलनबाट तातेको जनकपुरमा ताण्डव नृत्य देखाउने काम होस कि शीतल निवासमा एमाले माओवादीको बैठक र त्यसको अध्यक्षता राष्ट्रपतिद्वारा गरिनु कोरोनाले शिथिल भएको अर्थतन्त्रलाई ख्यालै नगरी त्यही बिचमा राष्ट्रपति भवनको इन्टरियर सजावटमा करोडौँ खर्च गरिनुले समेत विद्यादेवी भण्डारीको वास्तविक अनुहारको आवरण उग्रिसकेकै हो । अव उनी फेरि पार्टी नेता बनेर चुनाव लड्ने र प्रधानमन्त्री बन्ने उपक्रममा लागेकी छन् । उनले राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा नै फेरि दोहो¥याएर त्यही पदमा बस्ने इच्छा सार्वजनिक रूपमै प्रकट नगरेकी पनि होइनन् । तर उनको पार्टीले निर्वाचनमा उनलाई त्यो पदमा निर्वाचित गर्ने सङ्ख्यामा विजय हासिल नगरेपछि उनको महत्त्वाकाङ्क्षा भड्किएको थियो । र फेरि दलीय राजनीति मार्फत वैतर्नी तर्न खोज्दै छिन् । अक्षम, लालची, पदलोलुप र ऐयाशी जीवनशैलीमा इयेल्दा मार्काेशलाई माथ गर्ने भण्डारी अव देशका लागि फेरि अर्को पटक बोझ भएर आउन चाहिरहेकी छन् । उनले राष्ट्रपति हुँदा छोरी ज्वाइँका लागि व्यापार प्रवद्र्धन गर्ने, तक्मा बाँड्ने जस्ता अस्वाभाविक कार्य गरेर राष्ट्रप्रमुखको गरिमा माथि नै धावा बोलेको कुरा बिर्सन लायक छैन । त्यसै गरी माओवादी केन्द्रको आन्तरिक सङ्कटलाई टार्न कबजको रूपमा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनलाई केन्द्रीय समितिको उपाध्यक्षमा नियुक्ति दिएको छ । त्यसले राष्ट्र प्रमुख उपप्रमुखको मान, मर्यादा र गरिमालाई ध्वस्त पारेको छ । हुन त पुन उपराष्ट्रपति हुँदा पनि छोरा दीपेश पुन मार्फत तस्करी गर्न गराउन, पैसा सङ्कलन गर्न, गलत काम मार्फत आय आर्जन गर्नमा बदनाम थिए । उनको दरबार जस्तो अलिशान महल त्यसको जिउँदो जाग्दो उदाहरण हो । राजाले प्रधानमन्त्रीको समेत काम गर्ने गरी आफ्नो नेतृत्वमा मन्त्रीपरिषद् गठन गर्दा नपचाउने नेपाली जनताले राष्ट्रपति उपराष्ट्रपतिको यो पद मोहलाई सहजै स्वीकार गर्छन् भन्ने आधार नै छैन । राजालाई अनेक ढङ्गले लाञ्छित गर्नेहरूको यस्तो बेहोरा कसरी शोभनीय ठहर्छ त ?

अहिले पुर्वराष्ट्र प्रमुख उपप्रमुखलाई सक्रिय राजनीति अर्थात् पार्टी राजनीतिमा आउन संविधानले रोक लगाएको छैन भन्ने दलिल पनि पेस गरेको सुनिन्छ । तर संविधानले गर्नु हुँदैन भनेका कति काम गरेका छन् हाम्रा दलका नेताहरूले ? के घुस खानु हुन्छ, भ्रष्टाचार गर्नुहुन्छ, कमिसनको खेलमा सामेल हुनु हुन्छ भनेर संविधानले छुट दिएको छ त ? राष्ट्रपतिलाई विवादमा नपार्नका लागि नै कुनै कार्यकारी अधिकार नदिएर राष्ट्रप्रमुख बनाएको हो । तर विद्या भण्डारीले त मन्त्रिपरिषद्ले निर्णय गरेर दिएका दस्ताबेज समेत दलीय स्वार्थको वशिमुल भएर अड्काएर राख्ने, अस्वीकार गर्ने काम समेत गरिन । संविधानको रक्षाको जिम्मा पाएको वेला संविधानकै चीर हरण गर्ने भण्डारी अव फेरी कुन मुखले जनताका बिचमा जाने जमर्को गर्दै छिन ? दोश्रो राष्ट्रपति र उपराष्ट्रपतिको रूपमा नै गणतान्त्रिक व्यवस्थालाई त्यत्रो बदनाम गराएका भण्डारी र पुनले जनतालाई के भनेर राजतन्त्र भन्दा गणतन्त्र उचित छ भन्ने सिद्ध गर्छन् त ?

यस सम्बन्धमा प्रधानमन्त्री खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनतालाई प्रस्ट पार्न जरुरी छ । जनतालाई गुमराहमा राखेर अक्षम, भ्रष्ट र ऐयासहरूले राज गर्ने अवस्था अब छैन । सुशासनका लागि नेताहरूले त्याग गर्ने कुरा महत्त्वपूर्ण हो । भ्रष्टाचार न्यूनीकरणका लागि उदाहरण बनेर प्रस्तुत हुनुपर्ने वेलामा पदलोलुप, लालची प्रवृत्ति देखाएर सधैँ पदका लागि हिरिक्क हुने कुरा कसरी उचित हुन्छ । विद्या त मन्त्री, सांसद, पार्टी उपाध्यक्ष हुँदै दुई कार्यकाल राष्ट्रपति समेत खाइन । त्यो पनि उनको आफ्नै योग्यता र क्षमताले होइन लोग्नेको मृत्युको कारण । मदन भण्डारीको नाम बेचेर पाएको उपलब्धिलाई कसरी उनले दुरुपयोग गरिरहेकी छन् त्यो जनताले हेरिरहेका छन् ।

अब प्रचण्डले पार्टी बचाउन नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने र ओलीले एमाले मिलाउन विद्यालाई मातहतमा राज्य संयन्त्र राख्ने जमर्को मात्र हो । यो तरिकाले देश पनि बच्दैन र लोकतन्त्र पनि टिक्दैन । संविधानले जेसुकै भनोस् वा नभनोस् राष्ट्र प्रमुख भैसकेको व्यक्तिलाई विवादमा तान्ने, सक्रिय राजनीतिमा होम्ने र स्वार्थ सिद्धिको साधन बनाउने काम किमार्थ उचित होइन । यसरी नेपालले तरक्की गर्न नसक्ने मात्र होइन । दुनियाँका सामु इज्जत राख्न समेत सक्दैन । संसारले नगरेको गलत काम नेपालले गर्नु र त्यसमा गर्व गर्नु भन्दा बेकुफी अरू हुँदैन । अमेरिका जस्तो कार्यकारी राष्ट्रपतिको नारा लगाउने दाहाल र चुनिएको कार्यकारी प्रधानमन्त्रीको कुरा गर्ने प्र म ओलीले समय छदै विचार पु¥याएनन् भने पछि पछुताउनुको विकल्प छैन । समय छदै यो कुराको ख्याल राख्नु आवश्यक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *