पर्यटक लोभ्याउँदै चिसापानी भिरचोक सामुदायिक घरबास
गण्डकी । रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क छ । घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास) नं ९ भनेर लेखिएको सूचना झुण्ड्याइएको छ ।
उनीहरूले घरमा तीनवटा कोठा घरबासका लागि छुट्याएका छन् । बाहिर घरआँगन मात्र होइन गुरुङ दम्पतीले पाहुनाका लागि छुट्याएका कोठा सजाएर राखेका छन् । कोठामा प्रयोग गरिने सिरकडसना पनि सफा छन् । उनका एक छोरा र एक छोरी वैदेशिक रोजगारीमा छन् भने दुई छोरा र एक छोरी पोखरामा बस्छन् । छोराछोरी बाहिर भए पनि उनीहरू होमस्टेका माध्यमबाट पर्यटकलाई स्वागत गरिरहेका छना् । यहाँ आउने पाहुनालाई राख्ने पालो आएसँगै अतिथिलाई न्यानो आतिथ्यता प्रदान गर्दै आइएको गुरुङले बताए । होमस्टेको नियम अनुसारका ‘प्याकेज’मा कुनै कमी नहुने गरी उनीहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गरेका छन् । प्योकजका लागि प्रतिव्यक्ति एक हजार २०० निर्धारण गरिएको छ ।
कतिपय सुन्दर गाउँ रोजगारी तथा सुविधाको खोजीका नाममा खाली हुँदै गइरहेको अवस्थामा गुरुङ दम्पतीले गरेको यो प्रयास अरुका लागि पनि अनुकरणीय देखिन्छ । पेसाले भारतीय सेनामा रोजगारी गरी निवृत्त भएर गाउँ फर्किएका गुरुङ ५१ सालपछि यहाँ बस्दै आएका छन् । गाउँको स्वच्छ हावपानी छोडेर सहरतिर जान मन नलाग्ने बताउँदै उनले पछिल्ला समयमा गाउँमा सबै किसिमका सेवा सुविधा आइसकेका उल्लेख गरे । “पहिला गाउँमा खानेपानीको ठूलो दुुःख थियो, अहिले भने घरघरमा खानेपानीको सुविधा आएको छ”, उनले भने, “पानीसँगै गाउँमा बाटो कलोपत्र भइसकेको छ, यहाँ सुविधा सबैजसो आइसकेको छ ।” पानीको चरम असुविधाका बखत सबैभन्दा पहिले वल्र्ड भिजन भन्ने संस्थाबाट वर्षाको पानी सङ्कलन गर्नेगरी घरघरमा घैँटो निर्माण गरिदिएको भन्दै उहाँले त्यसपछि स्थानीय खानेपानी आयोजनाबाट पानीको सुविधा प्राप्त भइरहेको जानकारी गराए ।
गाउँको पर्यटकीय सुन्दरता र सम्भावनालाई दृष्टिगत गरी विगत एक वर्षयता यहाँका चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा चिसापानी भिरचोक सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । होमस्टे सञ्चालनको सुरुवातसँगै विगतमा गाउँ छोडेका पनि क्रमशः फर्कन थालेका बताउँदै उनले आँफूहरू होमस्टेका माध्यमबाट गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अभियानमा जुटेको उल्लेख गरे ।
यहाँस्थित चिसापानी गाउँ करिब एक हजार ३६५ मिटर उचाइमा रहेको छ, भने नजिकै १० मिनेटको पैदलयात्रापछि भिरचोक गाउँ पुगिन्छ । समुद्री सतहबाट करिब एक हजार २३३ मिटर उचाइमा भिरचोक गाउँ रहेको छ । चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा यहाँका ३० घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार भिरचोकका ११ घर र चिसापानीका १९ घरमा होमस्टे सञ्चालन गरिएको छ । यहाँका होमस्टेमा पाहुनाका लागि सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएको प्राङ्गारिक खाना खुवाउने गरिन्छ । त्यस्तै सांस्कृतिक रूपमा उनका स्थानीयले पाहुनालाई गुरुड संस्कृति अन्तरगतका सोराठी, घाटु, चरित्र, चुड्का, झोरा जस्ता विभिन्न नृत्य देखाउने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पर्यटकले यहाँस्थित हात्तीमता भ्यु प्वाइन्टसँगै नेपालको सबैभन्दा अग्लो झण्डाको साथमा रुपाकोट काल भैरवको मन्दिर, दुर्गादेवी मन्दिर, शिव, कमलादेवी, सरस्वती बराज्युलगायत धार्मिक एवं ऐतिहासिकस्थल अवलोकन गर्न पाउँछन् । त्यस्तै चिसापानी मन्दिर, थाप्ले भ्यु प्वाइन्ट, बराह थोक भ्यु प्वाइन्ट, माझकोट भ्यु प्वाइन्ट, रुपाकोट रिसोर्ट, हरियो वन जङ्गल आदिको दृश्यावलोकन गर्न पाउँनु यहाँको विशिष्टता हो । यहाँबाट माछापुच्छे, अन्नपूर्ण, लमजुङ हिमालका हिमाली दृश्यसँगै रुपा ताल, बेगनास ताल, फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्न सकिन्छ ।
यस ठाउँमा तनहुँको दमौलीसहित पावर हाउस, ताल चोकलगायत स्थानबाट सवारीसाधनमार्फत आउन सकिन्छ । यस होमस्टेको संस्थागत विकासको विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । यस ठाउँको पर्यटन प्रवर्द्धनसँगै बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेकको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उनले बताए । होमस्टे सञ्चालनलाई व्यवस्थित, प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका सञ्चालकलाई असल अभ्यास भएका अन्य होमस्टेमा अवलोकन भ्रमण गराइएको उनले जानकारी दिए । पछिल्ला समयमा होमस्टेमा संस्थागत रूपमा विभिन्न समूह आउने गरेको यहाँका होमस्टे सञ्चालक बताउँछन् ।
हालै प्रेस क्लब गण्डकीको संयोजनमा पोखरामा विभिन्न सञ्चारमाध्यममा क्रयाशील सञ्चारकर्मीले यस होमस्टेमा प्रवर्द्धनात्मक भ्रमण गरेका क्लबका अध्यक्ष एकराज गिरीले जानकारी दिए । “विभिन्न स्थानमा सञ्चालनमा आएका होमस्टेको प्रवर्द्धनसँगै त्यहाँ गरिएका असल अभ्यासको प्रवर्द्धनात्मक कार्यक्रमका माध्यमबाट प्रचारप्रसारलाई हामीले जोड दिएका छौँ”, उनले भने, “चिसापानी भिरचोक सामुदायिक होमस्टेमा दीर्घकालीन सञ्चालनका धेरै सम्भावना देखिएको छ ।”