शुभसाइत गर्ने क्रममा ढिस्को खस्दा ज्यान गयो
काठमाडौँ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ ।
घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो । फिदिम नगरपालिका–१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुङ्गानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो । दुई वटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुङ्गानाको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए । मृतक ढुङ्गाना सेवानिवृत्त शिक्षक छन् । उनले लामो समय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्यसमेत थिए । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।