भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।
तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जानुहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ ।मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ ।
सन् २०१९ देखि ती क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्नेदेखि लिएर नागरिकहरुलाई सार्वजनिक स्थलमा हुने जमघटहरुमा पनि निगरानी राख्नेगरी कडा कानुनी प्रतिबन्धहरु लगाइएको छ । काश्मिरका पाली भन्ने स्थानमा आइतबार भारतीय जनता पार्टीको कार्यक्रम आयोजना गरिएको छ र त्यहाँ प्रधानमन्त्री मोदी सहभागी हुने भएकाले त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ । उक्त क्षेत्रमा आतंकवादी समूह या भूमिगत समूहहरुबाट हुनसक्ने सम्भावित आक्रमणलाई लिएर ठूलो संख्यामा प्रहरीको पनि व्यवस्था गरिएको बताइएको छ ।