स्थापना दिवसको अवसरमा सामुहिक सहकारीद्वारा विभिन्न विधामा सम्मान
भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । सो अवसरमा संस्थाले निःशुल्क स्वास्थ्य परिक्षण, रक्तदान,जेष्ठ सदस्य, एसईई तथा प्लस टु सम्मान जस्ता कार्यक्रम आयोजना गरेको हो । त्यसैगरी संस्थाले विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई समेत गरेको जनाएको छ । संस्थाका अध्यक्ष राजभाई भेलेको सभापतित्वमा भएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिकृष्ण बल्ल अतिथि रहेका थिए ।

संस्थाले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार ६ हजार ७ सय सदस्य आवद्ध रहेको संस्थाको कुल सम्पत्ति ७४ करोड ८५ लाख पुगेको छ । संस्थाको शेयर पुँजी ६ करोड १८ लाख,बचत संकलन ५८ करोड ४२ लाख र ऋण लगानी ५१ करोड ७६ लाख रहेको छ । संस्थागत पुँजी ५ करोड ७२ लाख र जगेडा कोष ५ करोड ६८ लाख रहेको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरणमा निरन्तर कार्य गर्दै आएको छ ।
















