विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश : भ्रष्टाचार, कुशासन र विभेद अन्त्य गर्न एकजुट हुन आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन साहले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत विजयादशमीको शुभकामना सन्देश जारी गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन्। प्रधानमन्त्री साहले देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उनको सन्देशमा उल्लेख छ।
टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने उनले बताएका छन्। उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, भ्रष्टाचार, कुशासन र असमानताजस्ता विकृति हटाउँदै हरेक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको बताएका छन्। ‘इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ,’ प्रधानमन्त्री शाहको सन्देशमा भनिएको छ। बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने उनको भनाइ छ। अन्त्यमा प्रधानमन्त्री साहले सबैलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन, आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्दै ‘जय दुर्गा भवानी’ भनेका छन्।

















