व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा काम गर्नुपर्छ : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको अवस्थामा रहेको नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । बडादसैँ, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुन सबैलाई आग्रह गरेका हुन् । लामिछानेले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न ऊर्जा प्रदान गर्ने उनको विश्वास छ । यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै लामिछानेले प्राकृतिक तथा अन्य विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिका कारण घरबारविहीन र विस्थापित भएका परिवारको अवस्थाप्रति दुःख व्यक्त गरेका छन् । संकटको यस संवेदनशील समयमा विजयादशमीले नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । लामिछानेले नवदुर्गा भवानीसँग सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र संकटसँग जुध्ने साहस प्रदान गर्न प्रार्थना गरेका छन् । सत्यको विजयको सन्देश बोकेको यस पर्वले सबैमा सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्दै विपत्तिबाट उठेर पुनर्निर्माण र समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा दिने उनको शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तो छ उनको शुभकामना
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादसैँ ९विजयादशमी०, २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन् । यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। संकटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ, विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिंगो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ । नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा निस्स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्। असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्।
सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादसैँको हार्दिक शुभकामना !
















