अन्तरराष्ट्रियस्तरको सेवा दिने नेपाली ब्रान्ड ‘इला’, सातै प्रदेशमा विस्तार गर्ने ढकालको योजना

नेपालमा अन्तरराष्ट्रिय होटलका ब्रान्डले लिने महँगो शुल्कको विकल्प दिने लक्ष्यसहित आइएमई ग्रुपले आफ्नै होटल सञ्जाल ‘इला’ विस्तार गर्ने अभियान अघि बढाएको छ। पर्यटन क्षेत्रको पूर्वाधार विकास र स्वदेशी ब्रान्डको प्रवर्द्धनलाई प्राथमिकता दिएको समूहले अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा तुलनात्मक रूपमा आधा कम शुल्कमा उपलब्ध गराउने दाबी गरेको छ। नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकार अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै गुणस्तरीय होटल सेवा विस्तार गर्दै विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार विदेशमा काम गरेर अनुभव हासिल गरेका कर्मचारी र आफ्नै तालिम केन्द्रबाट तयार पारिएका दक्ष जनशक्तिको सहयोगमा इला होटलहरूले प्रतिस्पर्धी मूल्यमा सेवा दिइरहेका छन्। ढकालले नेपालमा अन्तरराष्ट्रिय होटलका ब्रान्डले लिने शुल्कभन्दा करिब आधा मूल्यमा समानस्तरको सेवा उपलब्ध गराउने उद्देश्यले इला सञ्चालनमा ल्याइएको बताए। उनले विदेशी ब्रान्डमा निर्भर भइरहनुभन्दा देशभित्रै आफ्नै होटल सञ्जाल विकास गर्न सकिने सम्भावनालाई समूहले व्यावसायिक अवसरका रूपमा लिएको उल्लेख गरे। उनका अनुसार आइएमई हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। कैलालीमा सुरुमा २० कोठासहित इला लज सञ्चालन गर्ने र पछि त्यसमा ६५ कोठा थप्ने योजना छ। पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट निर्माण तथा सञ्चालनको तयारी भइरहेको छ। पोखरामा ३५ कोठाको द लेक साइड रिट्रिट सञ्चालनमा छ भने काठमाडौंको लाजिम्पाटमा १०० कोठाको इला होटल सञ्चालन गर्ने तयारी गरिएको छ। यसबाहेक आइएमई समूहले चन्द्रागिरिमा १२० कोठासहितको रिसोर्ट सञ्चालन गर्दै आएको छ। समूहले होटल व्यवसायलाई केही सहरमा सीमित नराखी देशका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने लक्ष्य राखेको छ। ढकालका अनुसार पर्यटकलाई एउटै गन्तव्यमा सीमित नराखी विभिन्न भौगोलिक क्षेत्र, प्राकृतिक दृश्य, धार्मिक स्थल र मनोरञ्जनका गतिविधिसँग जोड्न सके उनीहरूको नेपाल बसाइ अवधि बढाउन सकिन्छ। उनले चन्द्रागिरिमा केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क र धार्मिक स्थलसहितका पूर्वाधार विकास गर्दा प्राप्त अनुभवले देशव्यापी विस्तारको योजना बनाउन प्रेरित गरेको बताए। यस्ता परियोजना सातै प्रदेशमा विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि अहिलेको तुलनामा दोब्बर बनाउन सकिने समूहको अपेक्षा छ। चन्द्रागिरिमा निर्माण गरिएका केबलकार, पाँचतारे रिसोर्ट, थिम पार्क, थ्रिडी पार्क र मन्दिरले पर्यटक आकर्षित गर्न तथा पर्यटन गतिविधि बढाउन सहयोग पुर्‍याएको ढकालको भनाइ छ। यही अनुभवलाई अन्य प्रदेशमा उपयोग गर्दै स्थानीय सम्भावनाअनुसार पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना अघि बढाइएको उनले बताए। इला ब्रान्ड स्थापना गर्नुको मुख्य उद्देश्य नेपालमै अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउनु रहेको ढकालले स्पष्ट पारे।

आइएमई समूहसँग रहेको व्यावसायिक सञ्जाल, लगानी क्षमता र व्यवस्थापकीय अनुभवलाई उपयोग गरेर स्वदेशी होटल ब्रान्डलाई स्थापित गर्ने योजना बनाइएको उनको भनाइ छ। ‘आफ्नै होटल ब्रान्ड किन नबनाउने र हामीसँग आवश्यक सञ्जाल, अनुभव र पूर्वाधार विकास गर्ने क्षमता छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने सोचबाट इला सुरु गरिएको हो,’ ढकालले भने। उनका अनुसार इला होटललाई अन्तरराष्ट्रिय ब्रान्डसँग गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्ने लक्ष्य राखिएको छ। होटलको सेवा विस्तार गर्दा सम्बन्धित क्षेत्रको प्राकृतिक वातावरण र पर्यटन सम्भावनालाई समेत ध्यान दिइएको समूहले जनाएको छ। तराईका गर्मी क्षेत्रबाट पहाडी गन्तव्यमा पुगेर चिसो मौसमको आनन्द लिन सकिने अवसर, वन्यजन्तु सफारी र धार्मिक पर्यटनलाई एउटै पर्यटन सञ्जालमा जोड्ने योजना बनाइएको छ। यसबाट पर्यटकलाई विभिन्न गन्तव्यमा पुग्न सहज हुने र स्थानीय अर्थतन्त्रमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ। ढकालले लगानीका क्षेत्र छनोट गर्दा सरकारी प्राथमिकता, सर्वसाधारणको आवश्यकता र व्यावसायिक दिगोपनलाई आधार बनाउने गरेको बताए। उनका अनुसार सरकारको प्राथमिकतामा रहेका क्षेत्रमा लगानी गर्ने, नागरिकले चाहेका सेवा तथा पूर्वाधार विकास गर्ने र दीर्घकालीन रूपमा व्यवसाय टिकाउ बनाउने तीन पक्षलाई समूहले महत्त्व दिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रको लगानीबाट देशभित्रै ठूला पर्यटन परियोजना सञ्चालन गर्न सकिने बताए। यस्ता परियोजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन, सेवा व्यवसाय र समग्र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्‍याउने उनको विश्वास छ। होटलसँगै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार विकासमा समेत आइएमई समूहले लगानी विस्तार गरिरहेको छ। समूहअन्तर्गत चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केबलकार सञ्चालनमा आइसकेका छन्। कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माण तथा सञ्चालनको तयारी भइरहेको छ भने पाथीभरा केबलकारको करिब ६० प्रतिशत काम सम्पन्न भएको समूहले जनाएको छ। त्यस्तै, देवघाटबाट मौलाकालिका जोड्ने केबलकार निर्माणको काम अघि बढाइएको छ। कास्कीको सिक्लेसमा पनि केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ। कर्णाली प्रदेशको रारामा होटल सञ्चालन गर्ने योजना बनाइएको छ भने मधेस प्रदेशमा पर्यटकीय पूर्वाधार विकासका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले दक्ष कर्मचारी, आधुनिक सुविधा र सेवाको गुणस्तरलाई होटल व्यवसायको मुख्य आधार बनाइएको बताए। उनका अनुसार इला होटलले अन्तरराष्ट्रिय होटल सञ्जालको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराउने लक्ष्यअनुसार काम गरिरहेको छ। विदेशमा आतिथ्य सेवासम्बन्धी ज्ञान र सीप हासिल गरेर नेपाल फर्किएका कर्मचारीसँगै कम्पनीले आफ्नै तालिममार्फत तयार पारेको जनशक्तिलाई होटल सञ्चालनमा परिचालन गरेको थापाले बताए। उनी आफैँ पनि विदेशमा हस्पिटालिटी क्षेत्रमा २० वर्ष काम गरेर नेपाल फर्किएका हुन्। नेपालका टाइगर प्यालेस, सिजी हस्पिटालिटी, याक एन्ड यती र सिद्धार्थ हस्पिटालिटीलगायतका संस्थामा काम गरेको अनुभवपछि इला हस्पिटालिटीमा आबद्ध भएको उल्लेख गर्दै थापाले दक्ष जनशक्ति र व्यवस्थापकीय अनुभवले गुणस्तरीय सेवा दिन सहयोग पुगेको बताए। होटलहरू रमणीय तथा पर्यटकीय सम्भावना भएका स्थानमा रहेकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ। होटलको भौतिक सुविधा र सेवाको गुणस्तरलाई स्थानीय गन्तव्यको आकर्षणसँग जोडेर पर्यटन बजारमा स्वदेशी ब्रान्डको पहिचान स्थापित गर्ने प्रयास भइरहेको उनले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *