‘नयाँहरू पनि सत्तामा पुगेपछि उही गलत बाटो पछ्याउँदैछन्’
काठमाडौँ । वालेन्द्र साहको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भइसकेको छ । सरकारको प्रारम्भिक कामलाई कतिले ठिकै भनिरहेका छन् भने कतिले परिपक्वता देखिएन भन्ने टिप्पणी गरिरहेका छन् । आफूलाई मन लागेको कुरा खरो रूपमा प्रकट गर्ने नेकपा एमालेका नेता गोकुल बास्कोटा ‘सरकारको कार्यशैली हेर्दा प्रारम्भिक संकेतहरू त्यति उत्साहजनक छैनन्’ भन्छन् । अन्तर्वार्ताका क्रममा पूर्वमन्त्री समेत रहेका बास्कोटाले सरकारको ६ महिने समीक्षा मात्रै होइन, आफ्नो दल एमालेभित्रको शक्ति संघर्ष र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनसम्मका विषयमा खुलेर कुरा गरेका छन् ।
उनलाई सुरूमै सोधियो पुराना राजनीतिक दल र नेताहरूले देश बिगारे भन्ने चर्को भाष्य निर्माण गरेर वर्तमान सरकार बनेको छ । यो सरकारको ६ महिने कार्यकाललाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
राजनीतिले नै देश बनाउँछ र यसैले बिगार्छ पनि । खराब राजनीतिक संस्कार, संस्कृति, मान्यता र दृष्टिकोणले देश बिगार्छ भने सही विचार, मान्यता र व्यवहारले देशलाई बलियो बनाउँछ । यदि पुराना दलहरूले देश ध्वस्तै बनाएका थिए भने तिनको विकल्पमा आएकाहरूले आफूलाई भिन्न प्रमाणित गर्नुपर्यो । उनीहरूले संसद्मा प्रचण्ड बहुमत पाएका छन् । यो उनीहरूका लागि काम गरेर देखाउने ऐतिहासिक अवसर र कठोर परीक्षा दुवै हो । उनीहरूलाई जनताले विश्वास गरे वा भ्रममा परेर मत दिए, त्यो आफ्नो ठाउँमा छ । तर ६ महिनाको अवधि पूरा भइसक्दा अब समीक्षा गर्ने बेला भएको छ । निर्वाचनका बेला गरिएका १०० बुँदे बाचा र जनतासँग गरिएको भनिएको ‘तमसुक’ सक्कली थियो कि भ्रमपूर्ण, त्यो व्यवहारबाट पुष्टि हुनुपर्छ । सरकारको कार्यशैली हेर्दा प्रारम्भिक संकेतहरू त्यति उत्साहजनक छैनन् ।
सरकारले काम गर्न खोजिरहेको छ, केही सुधारका काम पनि भएका छन् भनिन्छ नि ? तपाईंलाई किन चित्त नबुझेको ?
नो लाइन, अब अनलाइन भन्दै आएकाहरू सत्तामा हुँदा आज ग्यासको सिलिन्डर लिन अस्पतालको प्रांगणमा नागरिकको लामो लाइन देखिन्छ । पाँच वर्षदेखि अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा समस्या छ भन्ने थाहा हुँदाहुँदै यसको व्यवस्थापन खै त द्रुत गतिमा गरेको ? चाडबाडको मुखमा जनताले भोगिरहेको सास्ती छर्लङ्ग छ । सरकारी जग्गा अतिक्रमण हटाउनु राम्रो काम हो । तर त्यहाँबाट विस्थापित वास्तविक सुकुमबासी वा पीडितहरूको पुनर्स्थापना, अस्थायी बसोबास र मानवीय प्रबन्ध कहाँ पुग्यो ? काम गर्ने तरिका हुनुपर्छ । हठात् भत्काएर मात्र समस्या समाधान हुँदैन, व्यवस्थापन मुख्य कुरा हो । स्टन्टबाजी र सामाजिक सञ्जालमा भिडियो देखाएर मात्रै शासन चल्दैन । सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने घोषणा गर्यो, तर यथार्थमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ३।७ प्रतिशतभन्दा माथि जाँदैन भनिरहेका छन् । वितरणमुखी भाषण र यथार्थको डेलिभरीबिच ठुलो खाडल देखिन्छ ।
विपद्को समयमा मन्त्रीहरू फिल्डमै खटिए । प्रधानमन्त्री बिहानैदेखि कार्यालयमा समय दिइरहनुभएको छ, यसलाई सकारात्मक मान्न सकिन्न ?
विपद्का बेला उद्धार र राहतमा खटिनु सरकारको दायित्व हो, तर त्यसमा प्रोपोगाण्डा बढी र योजनाबद्ध काम कम देखियो । उद्धारमा ढिलाइ हुँदा सुरुङभित्र नागरिकले ज्यान गुमाउनुपरेको तितो यथार्थ छ । हामीसँग प्रविधि र क्षमता थिएन भने तत्काल छिमेकी मुलुकहरूसँग सहयोग माग्नुपर्थ्यो । अर्कोतर्फ, संसद् अधिवेशन चालु रहँदा कानुन निर्माणतर्फ ध्यान नदिने अनि संसद् सकिनासाथ अध्यादेश ल्याउने प्रवृत्ति देखियो । दुई(तिहाइ बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशको बाटो रोज्नु कस्तो लोकतान्त्रिक संस्कार हो रु हिजो अरूलाई गाली गर्नेहरू आज सत्तामा पुगेपछि उही गलत बाटो पछ्याउँदै छन् । मन्त्रीले कार्यालयमा कति घण्टा बिताए भन्ने कुरा गौण हो, मुख्य कुरा सेवा प्रवाह र नीतिगत नतिजा के आयो भन्ने हो ।
संसदीय अंकगणित हेर्दा त यो सरकार स्पष्ट बहुमतमा छ र पाँच वर्ष टिक्ने देखिन्छ । तपाईंहरू यसलाई असफल बनाउन लाग्नुभएको हो ?
हामीले चाहेर वा सडकमा दिनहुँ जुलुस निकालेर यो सरकार ढल्ने होइन । संसदीय प्रणालीमा सरकारको आयु उसको काम र संसद्को गणितमा निर्भर हुन्छ । हामी सरकार ढाल्ने कुनै असंसदीय खेलमा छैनौँ र त्यसको औचित्य पनि छैन । तर सरकार ढल्ने खतरा बाहिरबाट भन्दा पनि तीनवटा आन्तरिक कारणले हुन्छ( पहिलो, जनतासँग गरेका बाचा पूरा गर्न नसकेर उत्पन्न हुने तीव्र जनआक्रोश र नागरिक विद्रोह । दोस्रो, संविधान र विधिको शासनलाई कुल्चेर स्वेच्छाचारी बन्दै जानु र तेस्रो, सत्ता सञ्चालक दलभित्रको आन्तरिक अन्तरविरोध । यदि उहाँहरूले शासकीय अहंकार देखाउनुभयो र डेलिभरी दिन सक्नुभएन भने आफ्नै गल्ती र असफलताको भारले सरकार संकटमा पर्छ ।
अब अलिकति तपाईंको आफ्नै दल एमालेतर्फ लागौँ । पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको आवाज उठेपनि केन्द्रीय कमिटी बैठकपछि एकाएक सेलायो नि ?
पार्टीभित्र नीति, विचार र कार्यशैलीमाथि बहस हुनु जीवन्तताको प्रमाण हो । ११औँ महाधिवेशनमा हामीले फरक दृष्टिकोण र समूह बनाएर प्रतिस्पर्धा गर्यौँ । चुनावी प्रक्रियामा हामी पराजित भयौँ, जसलाई हामीले लोकतान्त्रिक विधिको रूपमा स्वीकार गर्यौँ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र पार्टीले व्यहोरेको धक्कापछि समीक्षा हुनु स्वाभाविक थियो । बैठकमा धेरै साथीहरूले नेतृत्वले अभिभावकीय भूमिका लिँदै सम्मानजनक रूपमा मार्गप्रशस्त गर्दा पार्टीको पुनर्गठन सहज हुन्छ भन्ने धारणा राखे । तर केन्द्रीय कमिटीको बहुमतले वर्तमान नेतृत्वकै निरन्तरताको पक्षमा निर्णय लियो । पार्टी विधि र विधानबाट चल्छ । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । त्यसपछि सधैँ एउटै रडाको मच्चाएर हिँड्नुको अर्थ रहँदैन । अर्को महाधिवेशनमा फेरि यी विषयहरू छलफलमा आउँछन् ।

















