आज बिहान ५ बजेदेखि नै तलेजु भवानीको दर्शन गर्न लाइन

काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । तर त्यसभन्दा अघिदेखि नै दर्शनार्थीहरु लामबद्ध थिए । आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिरमा पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला हुने गर्दछ ।

कोरोना महामारीका कारण २०७७ सालमा भने यो मन्दिर सर्वसाधारणका लागि पनि खुला गरिएको थिएन । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *