कांग्रेसले भन्यो– प्रारम्भिक नतिजाले एमाले अत्तालियो (विज्ञप्ति)
काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण स्थानीय तह निर्वाचनमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको तालमेललाई गठबन्धनमा संलग्नसबै राजनीतिक दल र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गरको दाबी विज्ञप्तिमा गरिएको छ । ‘यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । यसलाई हामीले स्वभाविक मानेका छौं,’ विज्ञप्तिमा कांग्रेसले भनेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको स्मरण विज्ञप्तिमा गरिएको छ ।
‘तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको भएको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो ।
लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ,’ कांग्रेसले भनेको छ । सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी विज्ञप्तिमा गरिएको छ ।