रासस अध्यक्ष झाद्वारा पदबहाली

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन् । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।

उनले भने, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ ।” अध्यक्ष झाले आफू राससमा ठूलो दायित्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औँल्याए । राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ व्यक्तिलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरेका छन् । साथै उनले कार्यकालभर राम्रो सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । प्रशासन प्रमुख शीतलप्रसाद महतोले पत्रकारिताका गुरुका रूपमा स्थापित वरिष्ठ पत्रकारलाई राससले अध्यक्षका रूपमा पाउनु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा राससले थप राम्रो काम गर्दै जाने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रहेका झालाई यही असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । क्याम्पस पढ्ने क्रममा वि.सं २०४३ मा भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनिसँग त्यसयता अन्नपूर्ण पोष्ट दैनिक, हिमालय टाइम्स दैनिक, हिमालय टिभीलगायत मूलधार र मोफसलका दर्जनौँ मिडियामा उच्च तहमा रहेर काम गरेको अनुभव छ । नवनियुक्त अध्यक्ष झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उनि नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचना हकको राष्ट्रिय अभियान्तासमेत थिए ।

धनुषा स्थायी घर भएका उनले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर शिक्षा हासिल गरेका छन् । वरिष्ठ पत्रकार झा अध्यक्षमा नियुक्ति अघि कोशीअनलाइन डट कममा प्रधान सम्पादक र नयाँ पत्रिका दैनिकमा स्तम्भ लेखकका रूपमा कार्यरत थिए । दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम हासिल गर्नुभएका उहाँले विभिन्न संस्थामा सल्लाहारका रूपमा अनुभव हासिल गरेका छन् ।

नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षकसमेत रहिसकेका अध्यक्ष झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा सदस्य र विज्ञका रूपमा काम गरेका छन् । साथै उहाँले सञ्चारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि संयुक्त राज्य अमेरिका, भारत, चीन, स्पेन, डेनमार्क, नर्वे, फिनल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न देशको भ्रमण गर्नुभएको छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *