सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए ।

पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताए । अध्यक्ष दाहालले भने, “प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गरेका छन् । मैले सङ्घीय संसद्मा विचाराधिन केही विधेयकलाई टुङ्गो लगाएर मात्रै घोषणा गरौँ भनेर आग्रह गरेको छु ।”

उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिएका छन् । उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले आफूले पार्टीका नेताहरुलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताए । उनले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राखेका थिए ।

“माओवादी कमजोर हुँदा परिवर्तनका एजेण्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेण्डालाई मूर्त रुप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ”, उनले भने । उनले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *