कोभिड–१९ बाट प्रभावितलाई २७ लाख राहत


काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारबाट प्राप्त राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० व्यक्तिलाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका र समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए ।

“अघिल्लो आवमा नै रकम प्राप्त भएको थियो, उक्त अवधिमा ढिलाइ भएपछि अहिले वितरण गर्न थालेका हौँ”, उनले भने । उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ । बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिएको थियो ।

वडा नम्बर १ का ८७, २ का ५९, ३ का ६१, ४ का ९, ५ का ५२ र वडा नम्बर ६ का एकजनालाई राहत वितरण गरिनेछ । राहत वितरणका लागि वडा कार्यालयबाट निवेदन माग गरिएको थियो । वडा कार्यालयमा प्राप्त भएका निवेदन वडा समितिले छनोट गरी गाउँपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाले उक्त सिफारिस निर्णय गरी गाउँसभाबाट पास गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *