नेपाल लाइफको जीवन बीमाकोष १ खर्ब ३६ अर्ब नाघ्यो


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा ९.५० प्रतिशतले घटी हो । इन्स्योरेन्सले सो वर्षमा ३२ अर्ब ३६ करोड रुपैया बराबरको प्रिमियम संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमाकोष बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा तथा कोषमा २८ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडामा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्स लगानी विस्तारमा आक्रामक देखिएको छ ।
२०७९ असार मसान्तसम्ममा कम्पनीले १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २२.७१ प्रतिशतले बढी हो । २०७८ असारसम्ममा इन्स्योरेन्सले १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । उक्त लगानी सुरक्षित क्षेत्रमा गरिएको समेत कम्पनीको दावी छ । गत आवमा इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ नोक्सानमा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ भने औसत प्रतिफल ९.५७ प्रतिशत रहेको छ । इन्स्योरेन्सले ६८ हजार ७५९ वटा बीमालेखबाट कूल १३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, १ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *