एकै दिन धेरै पटक विद्युत आउने जाने समस्या हुँदा उपभोक्ता हैरान
खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् । झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए ।
पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलव्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरूले बताएका छन् ।
जिल्लामा आइतबारयता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने क्रममा पटकपटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए ।