संस्कृतिको विकृति : जहिले जे खाए पनि दर, जे गाए पनि तीज गीत
गण्डकी । हरिदेवी कोइराला नाम नै पर्याप्त छ । ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ जस्ता कर्णप्रिय गीतले उहाँको गायन व्यक्तित्व चुलिएको हो । दुःख सुख, मायाप्रेम र दिदीबहिनी, चेलिबेटीका कथा व्यथालाई गीतमा उनेर प्रस्तुत गरिएका गीतले पनि कोइरालाको छवि उजिल्याएको हो । उहाँका झण्डै अढाइ सय तीजका गीत छन् भने हजारभन्दा बढी अन्य गीत रहेका छन् ।
त्यस्तै उहाँका १० वटा साहित्यिक कृति छन् । तीज गीतकै नाममा पछिल्ला समयमा भित्रिँदै गएको विकृतिप्रति चिन्ता व्यक्त गर्ने उहाँले गीतका माध्यमबाट समाजको कथा व्यथालाई प्रस्तुत गर्नुभएको त छ नै मौलिकता खोज्न र बुझ्नका लागि पनि उहाँका गीत सुन्नैपर्छ ।
“छोेराछोरी परदेश लागे घरै शून्य पारेर
एक्लै एक्लै बस आमा आँसु झारेर ।
बाबा पनि बूढा भए हिँड्छन् लौरो टेकेर
मुटु काम्छ आमा तिम्रो दुःख देखेर ।।”
उहाँको यस तीज गीतमा नेपाली समाजको यथार्थतालाई जीवन्त चित्रण गरिएको छ । रोजगारीको खोजीमा विदेशतिर भौँतारिएका छोराछोरी, घरमा एक्लै बस्ने बूढाबूढी र तिनको दुःखलाई गीतमा प्रस्तुत गरिएको छ । छोराछोरी हुर्काएर पछि सुख हुने झुटा सपना देख्ने आमाको बूढेसकालको नियतिलाई सङ्केत गर्दै गायिकाले भन्नुभएको छ,
“सुख हुन्छ भन्थ्यौ आमा छोराछोरी हुर्कार
झुटो सपना देख्यौ आमा बुझ संसार ।
खाई नखाई पाल्यौ तार्यौ दुःख गरी हुर्कायौ
बूढेसकालमा भन आमा तिम्ले के पायौ ।।”
जीवनको भारी झन् झन् ग¥हुँगो बन्दै गएको, गालामा चाउरी पर्दा पनि दुख थपिँदै गएको भन्दै कोइरालाले,
“तिम्रो भारी झन् गर्हुँगो हुँदै गयो अहिले झन्
के गर्छ्यौ त नरौ आमा नदुःखाउ भो मन ।
छोरा छोरी भन्दै भन्दै गयो सारा जीन्दगी
आमा तिम्रो मनको रहर पूरा हुन्नकी ।।
कति दुःख गर्छ्यौ आमा चाउरी परे गालामा
झन् झन् दुःख भयो आमा बूढेसकालमा ।।” गीतमा भन्नुभएको छ ।
यस्तै मर्मस्पर्शी गीत गाएर नेपाली लोकगीतका क्षेत्रमा चासो र चर्चा कमाउनुभएकी कोइरालाले झण्डै एक हजारभन्दा बढी गीत रचना गरिसक्नुभएको छ । पछिल्ला समयमा हाम्रा परम्परागत मौलिक संस्कृतिलाई विकृत बनाइएकोमा चिन्ता व्यक्त गर्दै कोइरालाले तीजका नाममा पनि थुप्रै विकृति भित्रिएको बताउनुहुन्छ ।
विसं २०४३ मा ‘मेरा माइती मुग्लान झरे’ गीतबाट गायन क्षेत्रमा उदाउनुभएकी कोइरालाका २०४६ सालपछि भने धेरै गीतहरू बजारमा आएका हुन् । पोखराको पर्यटकीयस्थल लेकसाइडमा जन्मनुभएकी उहाँका प्रेरणाका स्रोत आमा, हजुरआमा र तत्कालीन समयमा सारङ्गी लिएर गाउँदै हिड्ने गन्धर्व दाइहरू रहेको रासससँगको कुराकानीमा बताउनुभयो । साहित्य सङ्गीत नै आफ्नो विशेष रुचिको क्षेत्र भएको बताउँदै उहाँले भन्नुभयो, “प्राचीन मौलिकताले युक्त संस्कृतिको संरक्षणलाई मैले जोड दिँदै आएकी छु, तीजका नाममा जहिले खाए पनि दर र जे जस्तो गाए पनि तीजे गीत पछिल्लो समयमा यो हाम्रो संस्कृतिमा देखिएको विकृति हो ।”
पहिलाको तीज छोटो मिठो हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको तीज लामो पनि भयो, समयअनुसार परिवर्तन त हुन्छ तर तीजको मर्म र मौलिकता पहिला जस्तो छैन, हराउँदै गएको छ ।” तीजमा गाएका सबै गीतलाई तीजे गीत मान्न नसकिने बताउँदै उहाँले रत्यौली, दोहोरी आदिलाई पनि तीज गीत मानिदिँदा पछिल्ला पुस्ताले यस पर्वबारे के बुझ्लान् भनी प्रश्न गर्नुभयो ।
तीज सभ्य पारिवारिक चाड भएको र पछिल्ला समयमा चेलीबेटी, माइती, दाजुभाइ, दिदीबहिनीको सम्बन्धलाई विकृतिमय बनाइएको उल्लेख गर्दै उहाँले खानपान, लवाइ आदिमा आडम्बर देखिन थालेको दुःखेसो गर्नुभयो । “तीज भनेको त विशुद्ध चेलीहरूको पर्व हो, यसका गीतमा चेलीका मनका भावना, वेदना आदि आउनु आवश्यक छ, तर पछिल्ला समयमा यसलाई विकृत बनाइएको छ, पुरुष हावी बन्दै गएको पाइन्छ”, उहाँले थप्नुभयो ।
पछिल्ला समयमा तीज बढी माया पिरती लगाउने पर्व जस्तै बनेको र कतिपय गीतहरू परिवारमा बसेर सुन्न पनि अप्ठेरो मान्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । सञ्चारमाध्यमले पनि तीजका मौलिक भाकालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै कोइरालाले माइतमा गएर मामा, हजुरबुबा, हजुरआमा, दाजुभाइका बीचमा गाउने र सुन्ने खालका गीतलाई प्रश्रय दिनुपर्नेमा जोड दिनुभयो ।
तीज पर्वलाई लामो गरिँदा समाजमा पनि त्यसले गा¥हो बनाएको उहाँको भनाइ थियो । उहाँले यस पर्वलाई छोटो र सबै अटाउने खालको बनाउनका लागि सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । नेपाली समाजमा सयौं वर्षदेखि गाउँदै आइएका हम्काइलो जस्ता थुप्रै पुराना मौलिक गीत गाउनुभएकी कोइरालाले तीजको खाइने दर र गाइने गीतको मौलिकतालाई पछिल्ला पुस्तामाझ पनि पु¥याउनका लागि आजैबाट गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । कोइरालाको पछिल्लो तीज गीत ‘कदमका रुखमा बसेका कृष्णजी’ तीज गीत हालै बजारमा आएको छ ।