रुसी सेनाका कमान्डर भने- युक्रनस्थित खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन
एजेन्सी
काठमाडौँ । रुसी सेनाका कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रनस्थित खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । युक्रेनी सेनाले आफ्नो भूभाग फिर्ता लिन आक्रमण गरिरहेका बेला रुसी सेनाबाट यस्तो प्रतिक्रिया आएको हो । जवकि रुसी फौजले उक्त क्षेत्रलाई कब्जामा लिएर त्यहाँका नागरिकलाई हटाउन प्रयास गरिरहेको छ ।
अक्टोबर १० मा नियुक्त भएका रुसी वायु सेना जनरल सुरोभिकिनले हालै खेरसन क्षेत्रको अवस्था त्यहाँका नागरिक र रुसी सैनिक दुवैका लागि धेरै कठिन भएको बताएका हुन् । दुश्मनले आक्रमण नरोकेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त क्षेत्रलाई कब्जामा लिएर बसेको रुसी सेना केही सातायता २० देखि ३० किलोमिटर पछाडि हटेको पनि बताइएको छ । र उनीहरू रुस र युक्रेनको सीमा क्षेत्रमा रहेको निपर नदीको पश्चिमी किनारसम्म पुग्नसक्ने आकलन गरिएको छ ।
उत्तरी खेरसन क्षेत्रमा रहेका रुसी फौजहरूमाथि निरन्तर आक्रमण भइरहेको बताइएको छ । यसैबीच रुसी कमान्डर सुरोभिकिनले विशेष सैन्य अपरेसनको क्षेत्रको अवस्था तनावपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।
युक्रेनले रुसी सेनालाई युद्ध अपराध गरेको आरोप लगाइरहेको छ भने दुवैतर्फका सेनाले नागरिकहरूलाई आक्रमण लक्षित नगरेको दाबी गरिरहेका छन् ।