रुपन्देहीको विकासले समग्र देश विकासको आधार : गृहमन्त्री खाण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुुकको करिब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज)लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदा रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्रसमेत बन्ने उनले बताए ।
रुपन्देही क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका मन्त्री खाणले गठबन्धनद्वारा भैरहवामा आज आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुङ्गा हुने बताए । “पूर्वाधारमात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धिलगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन”, गृहमन्त्री खाणले भने, “चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।”
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुवाहकका साथै कार्गो सेन्टरका रूपमा विकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । गृहमन्त्री खाणले विदेशबाट हवाईमार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउन वातावरण सिर्जना हुँदा हजारौँ रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।
अर्को प्रसङ्गमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँचदलीय गठबन्धन बनेको दाबी गरेका छन् । “संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ”, उनले भने, “संविधानको पालना गर्दै यहाँभित्र भएका कमी–कमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।”