प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल बैतडीमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आपुगेका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनिहरू यहाँ आएका हुन् ।

उहाँहरूलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लगायतले फूलमालासहित स्वागत गरेका हुन् ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसक्नुभएको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सत्तारूढ शीर्ष नेताहरू यहाँ पुगेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनिहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ । उनिहरूले आजै दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *