शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

काठमाडौँ । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्कनुभएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुग्नुभएको छ । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गर्नुभएका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुग्नुभएको हो । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताउनुभयो ।

“धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु”, उहाँले भन्नुभयो, “शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पुर्‍याउनका लागि अभियान थालनी गरेको हुँ ।”

नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उहाँले धार्मिक महत्व उत्तिकै रहेको बताउनुभयो । “धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन”, उहाँले भन्नुभयो, “नेपालमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भारतका तीर्थस्थलमा पुगेर प्रचारप्रसार गर्नका लागि यात्रामा निस्किएको छु ।” भारतका ३४ प्रान्तका चर्चित तीर्थस्थलमा पुग्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

भारतको कामाख्या पुगेर पुनःनेपालको मेची नदीको पुलमा पुगेर यात्राको समापन गरिने साइकल यात्रामा निस्कनुभएका खतिवडाको भनाइ छ । यात्राका क्रममा पुगेका तीर्थस्थलको महिमाबारे उहाँले बास बस्ने स्थानका बासिन्दालाई सुनाउने गर्नुभएको छ ।

यात्राका क्रममा देवालय, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका ब्यारेकमा बास बस्दै आउनुभएको छ । गच्छेअनुसार दिएको दक्षिणा लिएर यात्राको खर्च धान्दै आएको साइकल यात्रामा निस्कनुभएका खतिवडाले बताउनुभयो । यात्रा गर्ने स्थानका स्थानीय तहले खतिवडालाई आर्थिक सहयोग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *