ललितपुर–२ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

ललितपुर । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराखेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कृष्णलाल र प्रेमबहादुर बाहेक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट सुरोज अवाले, नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादीबाट लक्ष्मण शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट राजवीर डङ्गोल उम्मेदवार छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुबरराज थापा, जनसमाजवादी पार्टी नेपालबाट शिव पौडेल, नेपाल सुशासन पार्टी नेपालबाट जयबहादुर खत्री, सङ्घीय लोकतान्त्रिक मञ्चबाट भुवान सिं लिम्बू, एकीकृत शक्ति नेपाल पार्टीबाट सुरेश महर्जन र हाम्रो नेपाल पार्टीबाट सुदिन शाक्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राजनीतिक दलबाहेक राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जीव चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ललितपुर महानगरपालिका– ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौवटा वडा, महालक्ष्मी नगरपालिकाको पूरै भागको १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ८१ हजार आठ सय ९७ मतदाता छन् । जसअनुसार ३९ हजार सात सय ४१ पुरुष, ४२ हजार एक सय ५६ महिला मतदाता छन् ।

यसअघि दुई कार्यकाल सांसद भइसकेका कृष्णलालसँग प्रतिस्पर्धामा रहेका प्रेमबहादुर पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका हुन् । २०५६ सालमा नेपाली कांग्रेसका उम्मेदवार जगतराज शाक्यलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका कृष्णलालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी जित हासिल गरेका थिए । २०७४ मा कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गरेका थिए ।

विसं २०५६ र २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका कृष्णलाल यस पटक भने नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवार छन् । विगतका चुनावमा आफूलाई सहयोग गरेर चुनाव जिताउन भूमिका खेलेका राजनीतिक तथा सामाजिक क्षेत्रका सहकर्मी प्रेमबहादुर अहिले उनकै प्रतिस्पर्धी छन् ।

क्षेत्र नम्बर २ को सहरी क्षेत्रमा नेवारी समूदाय, त्यसमा पनि महर्जन, डङ्गोलहरुको बाहुल्यता छ । महर्जन, डङ्गोलहरुको जातीय समाज ज्यापू समाजमा कृष्णलाल मानार्थ सदस्य छन् भने प्रेमबहादुर पूर्वाध्यक्ष हुन् । यस क्षेत्रका अधिकांश मतदाताहरु रहेको ज्यापू समाजभित्र दुवैको प्रभाव राम्रै छ । यस क्षेत्रमा कसलाई चुनाव जिताउने भन्नेमा यो समाजको पनि धेरै भूमिका रहन्छ ।

अघिल्लो पटक एमालेमा हुँदा तत्कालीन समयमा गठबन्धनमा रहेको नेकपा माओवादी यस पटक कांग्रेस, एकीकृत समाजवादीसहितको पाँचदलीय गठबन्धनमा आबद्ध छ । कृष्णलालले आफू सांसद हुँदा गरेका काम र यहाँको संस्कृति र सम्पदा संरक्षणमा आफूले पुर्‍याएको योगदान नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेका छन् ।

‘म आफू सांसद हुँदा यहाँको संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण काम गरेको छु । मतदातासामु लाजले शीर झुकाउनुपर्ने कुनै पनि काम गरेको छैन, अब पनि यस क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक विकासमा लागिपर्नेछु , यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्’, कृष्णलालले भने ।

उता प्रेमबहादुरले एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको दाबी गर्दै विगतमा पार्टी, ज्यापू समाज र सामाजिक संङ्घसंस्थामा बसेर गरेको काम नै आफ्नो जितको आधार भएको दाबी गरे । ‘मैले राजनीतिमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेको छु’, उनले भने, ‘यस क्षेत्रका नागरिकहरुको जीवनशैली परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु, यही आधारमा मलाई यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिनेछन् ।’

गत स्थानीय चुनावमा यस क्षेत्रका कूल १९ वटा वडामध्ये ललितपुर महानगरका ६ र महालक्ष्मीका तीनवटा गरी नौवटा वडामा कांग्रेसले, एकवटा वडामा माओवादी केन्द्रले र महानगरका तीन वटा र महालक्ष्मीका ६ वटा वडा गरी नौवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेका छन् ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीले यो क्षेत्रमा पाएको मत जोड्दा ३० हजार दुई सय ६५ मत हुन्छ । एमालेले कसैसँग पनि तालमेल नगरेकाले उसँग १६ हजार दुई सय ३७ मत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *