बागलुङ- १ मा चित्रबहादुर केसी विजयी
काठमाडौँ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ ।
केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गर्नुभएको छ ।
उमेरले ८० वर्ष पुग्नुभएका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । वि.सं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित हुनुभएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । केसीको यो चौथो पटकको संसद यात्रा हो ।
वि.सं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उहाँ पराजित हुनुभयो । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उहाँ यही क्षेत्रबाट संसद चुनिनुभयो । तत्कालीन समयमा उहाँले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गर्नुभएको थियो । वि.सं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित हुनुभएको थियो । केसीले २०७४ सालमा भने चुनाव लड्नुभएन ।
केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको थियो । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उहाँको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताउनुभएको छ । उहाँले ९ महिना जेल जीवन बिताउनुभएको थियो ।