कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन
काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन भएको छ । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए । पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।
विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए ।कांग्रेस नेताहरू दमननाथ ढुंगानासहितका नेताका समकक्षी चित्रकार काठमाडौंका प्रधानपञ्च भएपछि भने पदसहितका राजनीतिमा सक्रिय थिएनन् । कांग्रेस नेता अर्जुननरसिंह केसी २०१७ सालमा बीपी पक्राउ परेका बेला तरुण दलको महामन्त्री रहेका चित्रकार करिब चार वर्ष जेल परेको बताउँछन् । कांग्रेस नेता होमनाथ दाहाल तरुण दल हुँदै कांग्रेसको सक्रिय राजनीतिमा रहेका चित्रकार पछि भने पञ्चायतकै प्रधानपञ्च भएपछि कांग्रेसको राजनीतिमा पाखा परेको बताउँछन् । चित्रकार प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने अन्डरपास निर्माण भएको थियो ।