गठबन्धन टुट्ने विश्वप्रकाश शर्माको खुलासा

काठमाडौं । नयाँ सरकार गठनको विषयले भर्खर प्रवेश पाएकै बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेको गम्भीर खुलासाले नेताहरूको चरित्रबारे धेरै संकेत गरेको छ ।

कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता र चासो व्यक्त भइरहेका बेला शर्माले शनिबार अबको प्रधानमन्त्री दुई वर्षका लागि मात्र बन्ने भनेर सार्वजनिक रूपमै बताइदिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला शर्माले जो प्रधानमन्त्री बने पनि गठबन्धन टुट्न नहुने बताए । सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने उनको भनाइ छ । प्रधानमन्त्री जो बन्नुहोला, दुई वर्षका लागि बन्नुहोला, लुकाइछिपाइ केही छैन ।

हामी एक्लैले विजय हासिल गरेका होइनौँ । हामीसँगै माओवादी उत्तिकै साथमा उभिएको शक्ति हो,’ उनले शनिबार झापामा आयोजित सार्वजनिक कार्यक्रममा भने, ‘एकीकृत समाजवादी पनि उत्तिकै बलका साथ उभिएको शक्ति हो । आकारले अलिकति सानो–ठूलो भयौँ होला ।

तर, हामी एक्लै त कोहि पनि विजयी भएका होइनौँ । जनताको मतले गठबन्धन जसरी आएको छ, यसलाई एउटा सरकार बन्ने–बनाउने भन्ने नाममा बिथोलिन दिनुहुँदैन, भत्किन दिनुहुँदैन । गठबन्धनलाई जनताले जे–जुन रूपमा आकार दिनुभएको छ, त्यही रूपमा सफल बनाएर जानु छ ।’

निर्वाचनपछि पहिलोपटक १९ मंसिरमा बसेको सत्तागठबन्धनको बैठकले गठबन्धन निरन्तर रहने निर्णय गरेको थियो । कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा पहिलोपटक सरकार बनाउने प्रयत्नमा लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पनि प्रधानमन्त्री बन्ने तयारी गरेका छन् ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी पेस गरेपछि गठबन्धनमा समस्या उत्पन्न भएको छ । माओवादी अहिले तेस्रो शक्ति हो । निर्वाचनले मिलिजुली सरकार बनाउने म्यान्डेट दिएको छ । तर, सरकार बनाउने चाबी माओवादीकै हातमा छ । त्यही भएर प्रचण्डले बार्गेनिङ गर्ने टुल पाएका हुन् । तर प्रचण्डले आफ्नो जिद्धि नछाडे कांग्रेस र एमालेको सरकार बन्ने स्थितिमा पनि देश जान सक्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *