कांग्रेसभित्र देउवासँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा शेखर कि गगन  ?

काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल तथा प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । दलको नेताको चुनाव मंगलबार गर्ने कि बुधबार भन्नेमा सोमबार बिहान तय हुने समितिले जनाएको छ ।

संसदीय दल नेताका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा एक्ला उम्मेदवार छन् । उनलाई चुनौती दिने घोषणा धेरै समयअघि नै महामन्त्री गगन थापाले गरिसकेका छन् । थापालाई संसदीय दल नेतामा अघि सार्दा शक्ति विकेन्द्रित हुने ठानेर नेता शेखर कोइरालाले पनि उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका कोइरालाको प्यानलबाटै थापाले लोकप्रिय मतका साथ महामन्त्री जितेका थिए । ‘एकै पटक, यसै पटक’ भन्ने नारा दिएर गत वर्ष महाधिवेशनमा सभापति उठेका कोइरालाले त्यसपछि नेतृत्वमा युवालाई साथ दिने बताएका थिए । थापाको तयारी अघि बढिराख्दा मौन रहेका कोइरालाले पछिल्लो पटक एकाएक उम्मेदवार दिने मनस्थिति बनाएका हुन् । ‘कोइरालालाई उम्मेदवार नबनाउँदा आफ्नो प्रभाव घट्ने र गगनलाई नेता मान्नुपर्ने भन्दै संस्थापन इतरपक्षकै केही नेताको दबाबमा कोइराला उम्मेदवार बन्न खोजेका हुन्,’ संस्थापन इतरपक्षीय एक नेताले भने, ‘जतिसुकै नेतृत्व बदल्ने नारा दिए पनि सत्तास्वार्थका लागि देउवालाई सहयोग पुर्‍याउन खोजिएको छ ।’

केन्द्रीय सदस्य सञ्जय गौतमले संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउने प्रयत्न जारी रहेको बताए । ‘दुइटा उम्मेदवार बन्दा पार्टीभित्र हाम्रो पोजिसन अझै कमजोर हुन्छ । यसलाई बुझेरै दुवै नेता एकठाउँमा आउनुहुन्छ भन्ने विश्वास अझै छ । प्रयत्न गरिरहेका छौं,’ उनले भने ।

१४ औं महाधिवेशनमा तटस्थ रहेका नेता रामचन्द्र पौडेलको सहयोग संसदीय दलमा कसलाई हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा रहेका एक मात्रै सांसद प्रदीप पौडेल देउवालाई साथ दिने मनस्थितिमा छन् । महाधिवेशनमा आफ्नै दाजु शेखरको विपक्षमा उभिएका पूर्वमहामन्त्री शंशाक कोइरालाले शेखर संसदीय दलको नेता उठे साथ दिने संकेत गरेका छन् । ‘दाजु (शेखर) उम्मेदवार नभए मेरो समर्थन शेरबहादुरजीलाई हुन्छ । दाजु हुनुभयो भने असहज हुन्छ,’ उनले भनेका छन् ।

८९ सांसद रहेको कांग्रेसमा शेखर र गगन पक्षमा ३२ सांसद मात्रै छन् । प्रकाशमान सिंह, सिटौला, शशांक र रामचन्द्र पौडेलको पक्षमा केही सांसद भए पनि बहुमत देउवाको पक्षमा छ । देउवा सहजै संसदीय दलको नेता चुनिने सम्भावना छ । संसदीय दलको नेतामा हार्ने निश्चित हुँदा पनि आफूलाई शेखरबाट सहयोग नभएको दुखेसो महामन्त्री थापाले पोख्दै आएका छन् । ‘जित्ने ठाउँमा तपाईंलाई अघि बढाउँछु, मैले निर्वाचनका बेला मुद्दा नै बनाएकाले हार्ने चुनाव मलाई लड्न दिनुहोस् भन्ने गगनजीको कुरा छ,’ एक केन्द्रीय सदस्यले भने, ‘तर, शेखर दाइले पनि प्रतिस्पर्धाको मनस्थिति बनाइसक्नुभएको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *