देउवाको काँधमा थपिएको जिम्मेवारी

काठमाडौँ । संसदीय दलको नेतामा निर्वाचित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र मात्र होइन, समग्र देशको राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था भएकाले यो जितले देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला गरेको छ । देउवा संसदीय राजनीतिमा छैटौँपटक दलको नेता भएका हुन् ।

यसअघि उनी ०५१, ०५८, ०६३, ०७२ र ०७४ मा पनि संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ । उनी ६ दशकदेखि निरन्तर राजनीतिमा छन् ।

संसदीय दलमा ७१.९१ प्रतिशत सांसद आफ्नो पक्षमा उभिएको देखाएका देउवासँग केन्द्रीय कार्यसमितिमा पनि ठूलो शक्ति छ । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् । यसले संसदीय दल र पार्टी दुवैतिर देउवाको पकड बलियो बनेको छ । कांग्रेसको एक सय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्दीय केन्द्रीय कार्यसमिति छ । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ ।

दलको नेतामा निर्वाचित भएसँगै देउवाका अगाडि इतर समूहलाई विश्वासमा लिएर पार्टी चलाउने र अन्य दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर अहिलेको राजनीतिक कोर्स अगाडि बढाउने दायित्व थपिएको छ । दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई मिलाएर राम्रोसँग अघि लैजान आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिए । कांग्रेसमा रुपान्तरण र पुस्तारन्तरणको आवाज सशक्त ढंगले अघि बढेको छ । १४औं महाधिवेशनमै कांग्रेसमा धेरै युवा पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि युवा नै धेरै निर्वाचित भएका छन् । यसकारण देउवालाई युवा जमातलाई मिलाएर लैजानुपर्ने चुनौती छ । उनी आफैं पनि पहिले युवालाई मौका दिनुपर्छ भनेर राजनीतिमा होमिएका नेता हुन् । त्यसैले पार्टीको १५औं महाधिवेशनमा युवा पुस्तालाई उनले कसरी नेतृत्व हस्तान्तरण गर्लान् भन्ने चासो पनि देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *