नवनिर्वाचित सांसदले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो सवा एक बजेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।
नेपालीबाहेक १४ वटा मातृभाषामा २६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् । हिन्दीदेखि संस्कृतसम्मका भाषामा सांसदहरुले शपथ लिएका हुन् । जबराले भने ज्येष्ठ सदस्यको हैसियतले बुधबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिएको छ । शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।