प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारणसभा पुस २८ मा
काठमाडौं । प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारणसभा पुस २८ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र बैंकमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जना र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जनाको निर्वाचन, मनोनयन वा नियुक्ति गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारणसभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।