एमाले र माओवादी मिलर सरकार बनाए कांग्रेसलाई तनाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आहृवान गरेको समयावधि सकिनै लाग्दा दलहरु तीव्र छलफलमा जुटेका छन् ।

सत्ता समीकरणका अनेकन विकल्पबारे छलफल भइरहँदा पुनः कम्युनिष्टहरु एक हुनुपर्ने आवाज पनि उठिरहेको छ । २०७४ सालको निर्वाचनमा वामपन्थीहरू एक ठाउँमा उभिँदा झण्डै दुईतिहाइ जनमत पाएका थिए । त्यसलाई जोगाउन नसक्दा अहिले वामपन्थीहरू मिल्दा पनि सरकार बनाउन सक्ने अवस्था छैन ।

तर, दोस्रो र तेस्रो ठूलो शक्तिका रूपमा रहेको दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्दा केही अरू दलको साथ लिएर सरकार बनाउने अंकगणित भने पुग्ने देखिन्छ । एमाले–माओवादीसहित त्यसका लागि पुनः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली एक ठाउँमा आउनुपर्ने हुन्छ ।

पछिल्लो समय ओली–प्रचण्ड मिलाउन दुवै दलका केही दोस्रो तहका नेताहरू सक्रिय रुपमा लागेका छन् । मंगलबार ओलीले आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सत्ता समीकरणको विषयमा छलफल गर्न प्रचण्ड निवास खुमलटार नै पठाएका थिए ।

सो अवसरमा नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरु एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए । उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका थिए ।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने तयारी गरिरहेको बेला एमाले पनि सत्ता सहकार्यको लागि माओवादीलाई प्रस्ताव गरेको हो । यसैबीच बुधबार शितलनिवासमा ओली–प्रचण्ड र नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनालले कानेखुसी गरेको तस्बिर ‘भाइरल’ भएको थियो । जसलाई लिएर एकपटक पुनः वाम गठबन्धनको सम्भावनाबारे चर्चा चुलिएको छ ।

उसो त बिहीबार प्रतिनिधिसभा सदस्यको शपथपछि संसद् भवन परिसरमा आयोजित चियपान कार्यक्रममा दुई नेताबीच केहीबेर कुराकानी भएको थियो । एउटै सोफामा बसेका ओलीले प्रचण्डलाई केहिबेरको कानेखुशीमा नयाँ सरकार निर्माणमा मिलेर जान आग्रह गरेको बताइन्छ ।

जवाफमा प्रचण्डले त्यसका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको स्रोतले बतायो । सत्ता गठबन्धनमा प्रधानमन्त्रीबारे रस्साकस्सी चलिरहेका बेला प्रचण्डलाई सघाउन सकिने ओलीको ‘सिग्नल’ले पुनः वाम गठबन्धन बन्न सक्ने संकेत गरेको छ ।

यता एमालेको बिहीबार बसेको सचिवालय बैठकमा ओलीले माओवादीसँग सत्ता समीकरणबारे छलफल भइरहेको ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनमा कांग्रेसले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँग सहकार्य गर्नसक्ने सम्भावना देखिन्छ । पछिल्लो समय प्रचण्डसँगको सम्बन्ध सुधार्ने प्रयासमा देखिन्छन् ओली ।

चुनाव जितेलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । तत्कालीन नेकपा भंग भएदेखि दुई नेताबीच तीक्तता बढेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *