रुसले भन्यो- अमेरिकाले छद्म युद्ध गरिरहेको छ

मस्को । अमेरिकाले आफूविरुद्ध छद्म युद्ध गरिरहेको आरोप लगाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको रुसले आलोचना गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको वासिंटन भ्रमणका क्रममा शान्तिका पक्षमा कुनै कुरा नसुनिएको र यसबाट अमेरिकाले रुसविरुद्ध छद्म युद्ध गरिरहेको कुराको पुष्टि भएको आरोप लगाएका हुन् । पेस्कोभले अमेरिकाले युक्रेनलाई प्याट्रिअट क्षेप्यास्त्र दिँदैमा त्यसले युक्रेनमा सुरु गरिएको विशेष सैन्य कारबाहीको लक्ष्य प्राप्त गर्नबाट रुसलाई नरोक्ने दाबीसमेत गरेका छन् ।

जेलेन्स्कीसँगको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई अत्याधुनिक प्याट्रिअट क्षेप्यास्त्र प्रणालीसहित एक अर्ब ८५ करोड डलर बराबरको थप सैन्य सहायता दिने प्रतिबद्धता जनाएका थिए । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई व्यापक मात्रामा हातहतियार र सैन्य सामग्री दिएर सहयोग गर्दै आएकोछ । अमेरिकाले अहिलेसम्म युक्रेनलाई सैन्य र आर्थिक सहयोग गरी ५० अर्ब डलरबराबरको सहयोग गरिसकेको छ । थप ४५ अर्ब डलर सहयोगको प्रस्ताव संसदको माथिल्लो सदन सिनेटमा विचाराधीन छ ।

अमेरिका भ्रमणका क्रममा संसद्‌का दुवै सदनको संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोग दान नभएर वैश्विक सुरक्षा र लोकतन्त्रका लागि गरिएको लगानी भएको बताएका थिए । अमेरिका र अन्य पश्चिमा राष्ट्रले गरिरहेको व्यापक सैन्य सहयोगका कारण नै युद्धभूमिमा युक्रेनले रुसलाई अभूतपूर्व टक्कर दिइरहेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *