माओवादी र कांग्रसेका शिर्षनेताहरु नयाँ सरकार गठनका लागि छलफलमा व्यस्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । आज साँझ पाँच बजेसम्म सहमतिलाई अन्तिम रुप दिनुपर्ने बाध्यताका कारण अहिले पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको ठोस निर्णय निकाल्न विभिन्न छलफलमा व्यस्त रहेका छन् ।

अहिले बालुवाटार नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् भने माओवादी केन्द्रका शीर्ष नेताहरु गठबन्धनको ठोस निर्णय निकाल्न खुमलटारमा छलफलमा जुटेका छन् । यी दुबै पार्टीका नेताहरुको छलफल सकिएसँगै गठबन्धनको बैठक बस्ने तयारी रहेको छ ।

गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने रणनीतिमा जुटेका छन भने उता माओवादी केन्द्र पनि पहिलो कार्यकालका लागि सरकारको नेतृत्व आफ्नै दलले पाउनु पर्नेमा माग राखिरहेको छ ।

गत मंसिर ४ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *