बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु
काठमाडौं । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफाँटनजिकै राहादी गैरामा दुर्घटना भएको वडाअध्यक्ष रेमबहादुर रानाले बताए ।
उनका अनुसार मृतक सबै रैनादेवी छहरा- ८ खुर्सानेका छन् ।

ग. १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जना महिलाको मृत्यु भएको हो । दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा अध्यक्ष रानाले जानकारी दिए ।
दुर्घटनामा घाइते भेटिएका १७ जनामध्ये १३ महिला र ४ जना पुरुष छन् । घाइतेले फोन गरेर प्रहरीलाई राति १० बजेतिर दुर्घटनाको जानकारी गराएका थिए । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन सकेन । बस सडकबाट ५०/६० मिटर तल भीरमा खसेको बताइएको छ ।