प्रतिपक्षीविहीन संसद्

काठमाडौं । प्रतिनिधिसभा प्रतिपक्षीविहीन भएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद् प्रतिपक्षीविहीन भएको हो ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संविधान रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ (ङ)को ५ मा प्रतिपक्षी बारे परिभाषित गरिएको छ । जसमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सोभन्दा बढी सदस्यहरुको दल हुनुपर्ने हुन्छ ।

प्रतिपक्षीमध्ये सबैभन्दा ठूलो दल नै प्रमुख प्रतिपक्षी दल र त्यसको संसदीय दलको नेता नै विपक्षी दलको नेता हुने उल्लेख छ । तर अहिलेको संसद्मा प्रतिपक्षी दल हुनका लागि कांग्रेस, एमाले र माओवादी केन्द्र मात्रै योग्य थिए । एमाले र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका र कांग्रेसले पनि विश्वासको मत दिने भएपछि संसद् प्रतिपक्षीविहीन हुने भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले पनि मत दिने देखिएको छ । मत नदिनेमा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै हुने देखिन्छ । राष्ट्रिय जनमोर्चा र नेमकिपासँग प्रतिनिधि सभामा एक/एक सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *