बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ
काठमाण्डौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताएका छन् । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।