सुनदनलाई मन्त्री बनाएर प्रचण्डले पूरा गरे बाचा
काठमाडौं । मंसिर ४ मा हुने आमनिर्वाचनको पूर्वसन्ध्या अर्थात २०७९ कात्तिक ३० गते तत्कालीन पाँच दलीय गबठन्धनले भोजपुरको तिरारीभञ्ज्याङमा चुनावी सभा गरेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका उम्मेदवार माओवादीका पोलिटब्युरो सदस्य सुदन किरातीलाई भोट माग्न पुगेका थिए ।
प्रचण्डले सुदनलाई भोट माग्दै भनेका थिए– ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन, अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।’
प्रचण्डले भोट मागेअनुसार नै भोजपुरे जनताले सुदनलाई तेस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित गराए । र, भोजपुरे जनतासामु गरेको बाचा प्रचण्डले पनि पूरा गरेका छन् ।
सुदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन् । अघिल्लो कार्यकालमै मन्त्री बन्ने चर्चा भए पनि आन्तरिक सन्तुलन मिलाउन नसक्दा माओवादीले सुनदनलाई मन्त्री बनाउन सकेको थिएन । यसपटक भने उनी मन्त्री भएका छन् । सुनदन २०६४ र २०७४ सालको निर्वाचनबाट पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।