सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्याउन पहल गर्ने काँग्रेस महामन्त्री थापाको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा विचाराधीन रहेको सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन ।
रेडियो नेपाल कर्मचारी सङ्घको केन्द्रीय अधिवेशनको आज सिंहदरबारमा उद्घाटन गर्दै काँग्रेस महामन्त्री थापाले सार्वजनिक सेवा प्रसारण विधेयकमा देखिएका कमी कमजोरी सुधार गरी निष्कर्षमा पुर्याउन पहल गर्ने प्रतिबद्धता जनाए ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी सार्वजनिक सेवा प्रसारणका रुपमा अगाडी बढाउने विधेयक संसद्को राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।
महामन्त्री थापाले अबको पाँच वर्षमा संसदले परिणाममुखी काम गर्ने र लामो समयदेखि संसदमा अल्झिएर रहेका महत्त्वपूर्ण विधेयकहरू अघि बढ्ने बताए ।
महामन्त्री थापाले रेडियो नेपालको इतिहास प्रजातान्त्रिक मूल्य र विचारसँग जोडिएको र प्रेस स्वतन्त्रतामा यसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै रेडियो नेपाल अन्य सञ्चार माध्यमभन्दा अग्रणी भूमिकामा रहनुपर्ने उल्लेख गरे ।