मुक्तिनाथ कृषि कम्पनीको व्यावसायिक साझेदार सम्मेलन


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चितवनको भरतपुरमा आफ्ना व्यावसायिक साझेदारहरुको वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृङ्खला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले सम्मेलन आयोजना गरेको हो । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवम् कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा विस्तारमा खट्ने व्यावसायिक साझेदारहरुको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृङ्खलाको उचित व्यवस्थापन, समग्र कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यावसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वारा कृषि क्षेत्रलाई उद्यमको रुपमा विकास गर्दै ग्रामिण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा बाहिर भइरहेको अवस्थामा अबको लगानी कृषि क्षेत्रमा हुनुपर्ने भन्दै आवश्यकता अनुसार व्यावसायिक साझेदार तथा कृषि उद्यमीहरुसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको बताए ।
कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले कम्पनीले कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न आफ्नो वस्तु तथा सेवाहरु देशैभरी पुर्‍याइ बजारको माग अनुसार उत्पादन प्रणालीको विकास गरी कृषि उपजहरुको खरिद सुनिश्चितताका साथ गुणस्तरीय उत्पादन आम उपभोक्ता माझ पुर्‍याउने उद्देश्यका साथ कार्य गरिरहेको बताए । देशभरका व्यावसायिक साझेदारहरु सहभागी सम्मेलनमा बेस्ट च्यानल पार्टनर अफ दि २०७८।७९, बेस्ट इनिसियटर अफ दि इयर २०७८।७९, योङ्ग एग्रो इन्ट्रेप्रेनर अफ दि २०७८।७९ विधाका उत्कृष्ट व्यावसायिक साझेदारहरु र कम्पनीको बजार प्रतिनिधि मध्ये १ जनालाई एमकेसीएल च्याम्प अफ दि इयर २०७८।७९ विधाबाट सम्मान गरिएको कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन विभागका विभागीय प्रमुख रोशन मल्लले जानकारी दिए । चितवन एक्स्पो सेन्टरमा २७ माघदेखि २९ माघसम्म सञ्चालित पाँचौ रास्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यावसायिक साझेदारहरुलाई प्रदर्शनीको समेत भ्रमण गराइएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *